नेपालको एक मात्र फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले आज एउटा कोशेढुंगा पूरा गर्दैछ ।
अहिले राजधानीमा दोस्रो संस्करणको एनएसएल चलिरहेको छ । त्यसमा ललितपुर सिटी एफसी र झापा एफसीबीच आज हुने खेल एनएसएलको ५०औं खेल हुनेछ ।
२०७८ सालमा भएको पहिलो संस्करणमा कूल २५ खेल भएको थियो । त्यसमा ७ टोली मात्र सहभागी थिए । यस पटक सहभागी संख्या बढेर ९ पुगेको छ र लिग चरणको खेल चलिरहेको छ ।
ललितपुर र झापाबीचको खेल यस सिजनको २५औं खेल हुनेछ भने समग्रमा ५०औं खेल हुनेछ । ललितपुर पहिलो संस्करणमा तेस्रो भएको थियो । झापा एफसी दोस्रो संस्करणमा थपिएको तीन नयाँ टोली मध्ये एक हो ।
यस सिजन ललितपुर उपाधिको दाबेदारको रुपमा देखिएको छ । त्यही अनुसार प्रदर्शन गरिरहेको ललितपुर ५ खेलसम्म अपराजित छ । २ जित र ३ बराबरीको नतिजापछि ९ अंकसहित ललितपुर दोस्रो स्थानमा छ ।
झापालाई पराजित गरेमा ललितपुरले प्लेअफमा एक कदम स्थान अघि बनाउनेछ । उता पाँचौ खेलमा आएर पहिलो जित निकालेको झापा ५ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ ।
झापा सामु पनि ललितपुरलाई पराजित गर्दै अंक तालिकामा पनि फड्को मार्ने अवसर छ । ललितपुरलाई पराजित गरे झापा ललितपुरलाई नै पछि पार्दै दोस्रो स्थानमा पुग्नेछ । पराजयले भने शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने सम्भावनामा पनि धक्का लाग्नेछ ।
झापाका कप्तान अन्जन विष्टका लागि ललितपुर विरुद्धको खेल आफ्नै पूर्व टोली विरुद्ध हुनेछ । पहिलो सिजनमा अन्जन ललितपुर सिटीकै मार्की तथा कप्तान थिए । यस सिजन झापाले अन्जनलाई मार्की चयन गर्दै कप्तान बनाएको हो ।
यस सिजन ललितपुरको मार्की तथा कप्तानमा अनन्त तामाङ छन् । यस्तै ललितपुर र झापा दुवैमा विदेशी प्रशिक्षक छन् । यस सिजन यो दुईसहित एफसी चितवनले पनि विदेशी प्रशिक्षक अनुबन्ध गरेको थियो ।
अष्ट्रेलियन इयान गिलियनको प्रशिक्षणमा रहेको ललितपुरले आक्रामक फुटबल खेल्दै आएको छ । गिलयनको शैली नै आक्रामक फुटबल खेल्दै सुरुमै गोल निकाल्ने र आरामदायी अवस्थामा रहने हुनेछ ।
त्यसको उदाहरण ललितपुरले विपक्षीको पोष्टमा सर्वाधिक ७ गोल गर्दै देखाइसकेको छ । उता स्पानिस प्रशिक्षक ओरिएल मेहडानो सेगुराको प्रशिक्षणमा रहेको झापामा युरोपियन राष्ट्र स्पेनदेखि सर्विया अनि उज्वेकिस्तानका खेलाडी छन् ।
सर्वियाको गोलकिपर स्टेफेन क्युपिकले अहिलेसम्म सबैभन्दा कम २ गोल मात्र बेहोरेका छन् । फरवार्डमा स्पेनकै जोर्ज सान्चेज कानिलास र नेपालका अन्जन विष्ट भएको झापाले विपक्षीको पोष्टमा भने जम्मा दुई गोल गरेको छ ।
अन्जनले चोटका कारण दुई खेल गुमाएका थिए । जोर्ज सान्चेज भने नेपाली फुटबलमा अझै राम्रोसँग भिज्न सकेका छैनन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ