सूचनाको शक्ति - The Power Of Information

        

हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई इजरायलीसरह बीमा

इजरायलमा हमास समूहले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारले त्यहाँकै नागरिकसरह बीमा सुविधाबापतको रकम पाउने भएका छन् ।

नेपालका लागी इजरायलका राजदूत खनान गोदरले मारिएका विद्यार्थीका परिवारका सदस्यलाई बुधबार बिहान टीकापुरमा भेटेर आफ्नै देशका नागरिकसरह बीमा सुविधा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

राजदूत गोदरले मारिएका विद्यार्थीका परिवारलाई इजरायली नागरिकसरहको व्यवहार गरिने आश्वासमेत दिएका छन् । उनले आगामी दिनमा पनि आफूहरू मारिएका विद्यार्थीका परिवारको साथमा रहने बताए । भोलिका दिनमा पनि के गर्न सकिन्छ भन्नेबारेमा सोचिरहेको उनले बताए ।

उनले भने, ‘इजरायल सरकार यहाँहरूको साथमा छ ।’ गोदरले मारिएका विद्यार्थीका परिवारका सदस्यसँग टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकाय भवनमा भेट गरेका थिए । त्यस क्रममा उनी निकै भावुक देखिएका थिए । उनले मारिएका विद्यार्थीका परिवारका सदस्यलाई सान्त्वना पनि दिए ।

भेटघाटमा मारिएका १० जना विद्यार्थीका परिवारका सदस्य उपस्थित थिए । भेटका क्रममा राजदूत गोदरले इजरायलबाट हमासको अपहरणमा परेका विद्यार्थी कञ्चनपुरका विपीन जोशीका बुबा महानन्द जोशीलाई पनि भेटे ।

जोशीले छोराको पर्खाइमा रहेको भन्दै सहयोगका लागि अनुरोध गरे । जोशीलाई आश्वस्त पार्दै राजदूत गोदरले सक्दो पहल भैरहेको बताए । दिउँसो राजदूत गोदर इजरायलमा मारिएका टीकापुरका दुई विद्यार्थीको घरमा पनि पुगेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार ०८:१४

लोकप्रिय