जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका बिरामीहरु निको भएर डिस्चार्ज भएसँगै अब अस्पतालमा उपचाररत घाइतेको सङ्ख्या शून्य भएको छ ।
उपचारपश्चात् कोही बिरामी निको भएर डिस्चार्ज भई घर गए भने कोहीलाई थप उपचारका लागि काठमाडौं पठाइएपछि यहाँ उपचार गराउने भूकम्पका घाइते बिरामीको सङ्ख्या शून्य भएको हो ।
बुधबार भेरी अस्पतालमा उपचाररत दुई बिरामीमध्ये एक जनालाई डिस्चार्ज गरिएको र एक जनालाई थप उपचारका लागि रिफर गरी काठमाडौं पठाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
बुधबार भेरी नगरपालिका–१ जाजरकोटका १५ वर्षीया अनामिका शाहीलाई डिस्चार्ज गरिएको र सानिभेरी–२ रुकुमपिश्चमका ५ वर्षीय बालक सुशान्त पुनमगरलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त भूकम्पमा परी घाइते भएका विभिन्न जिल्लाका ६० जना बिरामीलाई उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । जसमध्ये हालसम्म ५४ जना बिरामी निको भएर डिस्चार्ज हुनुभएको हो ।
अस्पतालमा उपचार गराउन ल्याइएकामध्ये एक जनाको अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको र पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।
जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएका बिरामीहरुलाई उपचारका लागि भेरी अस्पतालमा १८ गते बिहानदेखि ल्याउन सुरु गरिएको थियो ।
तत्पश्चात विभिन्न समयमा ६० जना घाइतेलाई उपचारका लागि भेरीमा ल्याइएको थियो । अस्पतालले छुट्टै ‘डिजास्टर वार्ड’को व्यवस्थापन गरेर भूकम्पका घाइतेलाई मात्र उपचार सुरु गरेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके