नेपालगन्ज उपमहानगरपालिकाभित्र नियमविपरीत र कागजातबिना सञ्चालनमा रहेका ३९७ ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।
ट्राफिक व्यवस्थापनका लागि रातो नम्बरप्लेटका यात्रुबाहक रिक्सा तथा आधिकारिक निकायमा दर्ता नभएका रिक्सा नियन्त्रणमा लिइएको हो । नगर प्रहरी सहायक निरीक्षक पवन कनौजियाका अनुसार मङ्सिर १९ गतेदेखि हालसम्म ३९७ ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।
कागजात बुझाउने १६९ रिक्सा फिर्ता भए पनि २२८ रिक्सा जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरभित्र राखिएका छन् । प्रहरी सहायक निरीक्षक कनौजियाले भन्नुभयो, ‘यात्रुवाहक सवारी साधनमा प्रयोग गरिएका रातो नम्बरप्लेटका रिक्सा, चेसिस र ब्लुबुक नमिलेका, कागजात नभएका ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।’
नगरभित्र सञ्चालित ई–रिक्सा व्यवस्थापनका सन्दर्भमा उपमहानगरपालिका केही दिनका लागि लचक भएको छ । रिक्साधनीको माग सम्बोधन गर्दै ई–रिक्सा दर्ता तथा नवीकरणका लागि पुस ११ गतेसम्मको समय दिइएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
नगरप्रमुख विष्टले भन्नुभयो, ‘श्रमजीवी वर्गको मागलाई दृष्टिगत गर्दै तत्काल आवश्यक कागजात पेश गरी रिक्सा बुझिलिने निर्णय भएको छ, पुस ११ गतेपछि कडाइका साथ प्रस्तुत हुनेछौं, होल्ड गरिएका रिक्साका लागि यो अन्तिम मौका हो ।’
ई–रिक्सा छोड्न माग गर्दै रिक्साधनीले मङ्गलबार उपमहानगरपालिकाको मूल प्रवेशद्वार घेराउ गरी नाराबाजी गरेका थिए । उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका ई–रिक्सा अनिवार्य दर्ता प्रक्रियामा ल्याउनुपर्ने निर्णय गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके