सूचनाको शक्ति - The Power Of Information

        

अपाङ्गता भएका बिरामीका लागि राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविर

बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । अपाङ्गता भएका बिरामीहरुका लागि नाक, कान, घाँटी, आँखा, फिजिसियन, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवा प्रदान गर्नका लागि बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भिजन आँखा अस्पताल नेपालगन्ज र ब्रिनोज कान स्याहार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा पालिकाभित्र रहेका अपाङ्गता भएका बिरामीहरुका लागि ९ नं. वडाको महादेवपुरी स्वास्थ्य चौकी, ढकेरीमा निःशुल्क स्वास्थ्य शिविर राखिएको ९ नं. वडाका सचिव पङ्कज चौधरीले जानकारी दिए ।

बिहीबार सञ्चालन हुने शिविरमा आउनुहुने सम्पूर्ण अपाङ्गता भएका बिरामीहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य उपचारको सेवा प्रदान गरिने वडा सचिव चौधरीले बताए । गाउँपालिकाले सम्बन्धित सरोकारवालासँगको समन्वयमा पालिकाका विभिन्न ठाउँमा विभिन्न प्रकारका रोगी बिरामीका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ०९:२१

लोकप्रिय