सूचनाको शक्ति - The Power Of Information

        

रुसी सेनामा कार्यरत माओवादीका पूर्व लडाकुको पत्र

प्रिय साथीहरू
सार्वजनिक रुपमा एउटा जानकारी

म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि नेपाली मुलधारका मिडियामा आवद्ध मिडियाकर्मी साथीहरूबाट त्यहाँको अवस्थाबारे केही बोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ, यसबारे यहाँ आएका अरु साथीहरूले के बोल्छन्, के गर्छन्, त्यो उनीहरुको विषय भयो ।

तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागि बन्दुक बोकेर झण्डै एक दशक रगत र पसिना बगाइयो, अंशमा केही परिवर्तन त भयो, तर समग्रमा दलाल राज्य सत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन ।

परिणामतः आज पनि सत्ता र शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिपतिहरुकै जगजगी छ, परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्न कै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनुपर्ने वाध्यात्मक परिस्थिति सिजना भएको छ ।

यहि कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ । पृष्ठभूमि, कथा र व्यथा भिन्नभिन्न होलान्, तर बाध्यताले दोहोर्याएका हजारौं नेपाली युवाहरु अहिले रसियन सेनामा भर्ती भई युद्धको मोर्चामा खटिइरहनु भएको छ ।

युद्धरत देशको (यो सामान्य सैनिक जागिरजस्तो होइन) सैन्य फौजमा कार्यरत रहदा सकारात्मक र नकारात्मक सबै विषय अनुभुत गर्न सकिन्छ । यद्यपि यी विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु ।

युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ? युद्ध मैदानमा प्रवेश गरिसकेपछि के–के हुन्छ ? के–के गर्नुपर्छ ? के–के भोग्नुपर्छ ? सैन्य संठगन भित्र के गर्न पाइन्छ र के गर्न पाइन्न ? सैन्य कानुन र अनुशासन के–कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनविज्ञ हुनुहुन्न तसर्थ बिषयवस्तुलाई यसरी सरलरुपमा वुझिदिनुहुन म विशेष आग्रह गर्दछु ।

युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार वनाएर सामाजिक सञ्जालरमिडिया हाउसहरु मार्फत रुसविरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी र युरोपियन गठवन्धन एवम् तिनका एजेन्टहरुको मतियार बन्न सकिन्न । न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर वन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा वन्दुक बोकेको प्रति कुनै गुनासो छ ।

आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहिन र अर्थहिन कहिल्यै लाग्दैन । जोखिमपूर्ण यात्राको पाइला–पाइलामा चुनौति त छ नै यद्यपि हार कहिल्यै मानिँदैन, गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ । अन्त्यमा, सयौं साथीहरूले रसिया भर्ती हुन आउनुपर्यो, के–कसरी हो ? च्यानल मिलाइदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएको छ । एक–एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सूचनामार्फत जानकारी, यहाँ अहिले भर्ती बन्द छ, दलालहरुको भ्रममा नपर्नुहोला । धन्यवाद ।।

– रूसी सेनामा कार्यरत पूर्व माओवादी लडाकु म्याग्दीका डाइमण्डको फेसबुकबाट ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ०८:२१

लोकप्रिय