सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा नियन्त्रणका लिइएका ई–रिक्सा छोड्न माग गर्दै चालक आन्दोलनमा

नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका ई–रिक्सा छोड्न माग गर्दै चालकहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मङ्गलबार उप–महानगरपालिकाको मूल प्रवेशद्वार घेराउ गरी नाराबाजी गरेका छन् ।

रिक्सा चालक नेपालगन्ज–१५ जयसपुरका सलमान खानले उपमहानगरपालिकाले रिक्सा नियन्त्रणमा लिएपछि आफूहरूको दैनिकीमा समस्या पर्न थालेको  बताउनुभयो । खानले भन्नुभयो, ‘‘रिक्सा मालिकले कर नतिरेको दोष हामी चालकलाई दिन भएन ।’’

नेपालगन्जका गुड्ने ई–रिक्सामध्ये भाडामा चलाउने पनि अधिक छन् । यहाँ १० हजार बढी ई–रिक्सा भएको अनुमान छ । उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका ई–रिक्सा अनिवार्य दर्ता प्रक्रियामा ल्याउनुपर्ने निर्णय गरेको छ ।

जस अनुसार दर्ताका लागि कुनैपनि कागजात नभएका ई–रिक्सा नियन्त्रणमा लिइएको छ । यसरी नियन्त्रणमा लिइएका ई–रिक्सा सञ्चालक र चालकहरूले विनासर्त ई–रिक्सा छोड्नुपर्ने माग गरेका हुन् ।

उनीहरूले अबदेखि उपमहानगरपालिकामा दर्ता भई कर तिर्ने प्रतिबद्धता जनाएका छन् । उपमहानगरपालिकाले रातो नम्बर प्लेटका ई–रिक्सालाई समेत यात्रु बोक्न प्रतिबन्ध लगाएको छ ।

नगरभित्र चलिरहेका रातो नम्बर प्लेटका रिक्सा लिने गरिएको छ । नगर प्रहरी सहायक निरीक्षक पवन कनौजियाका अनुसार यात्रुवाहक सवारी साधनमा प्रयोग गरिएका रातो नम्बर प्लेटका रिक्सा, चेसिस र ब्लुबुक नमिलेका, कागजात नभएका रिक्साहरू  ३९७ ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ०६:२३

लोकप्रिय