२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

रेफ्रीलाई मुक्का हानेपछि टर्किस सुपर लिगका खेल स्थगित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २६ गते मंगलबार

टर्कीमा एक क्लबका अध्यक्षले रेफ्रीमाथि मुक्का प्रहार गरेपछि टर्किस सुपर लिगका खेलहरु स्थगित भएका छन् ।

सोमबार शीर्ष श्रेणी अन्तर्गत एमकेई अन्कारगुकु र काएकुर रिजेस्पोरबीच भएको खेलमा एमकेई अन्कारगुकुका अध्यक्ष फारुक कोकाले मैदान प्रवेश गर्दै रेफ्री हालिल उमुत मेलरलाई मुक्का प्रहार गरेका थिए ।

‘लिगका सबै खेल तत्कालको लागि स्थगित गरेका छौं,’ टर्की फुटबल संघका अध्यक्ष मेहमेत बुयुकेक्सीले भनेका छन्, ‘यो आक्रमण टर्की फुटबलको लागि लज्जास्पद हो ।’

९७औं मिनेटमा काएकुरले बराबरी गोल गरेपछि कोका मैदान प्रवेश गरेका थिए र रेफ्री विरुद्ध उत्रिएका थिए । मुक्का प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढलेका थिए ।

उनी घाइते छन् । उनलाई अस्पताल लगेर उपचार गर्नुपरेको थियो । उनको उपचारमा संलग्न फिजिसियन डक्टर मेहमेत युरोबुलुटले ठूलो चोट भने नरहेको बताएका छन् ।

३७ वर्षीय मेलर टर्की फुटबलका उत्कृष्ट रेफ्रीमध्येका एक हुन् । फिफाका लागि अन्तर्राष्ट्रिय खेल खेलाएका उनी युइएफएका इलाइट रेफ्री लिस्टमा पनि छन् ।

प्रकाशित मिति : २०८० मंसिर २६ गते मंगलबार