सुविधासम्पन्न दर्जनौँ स्वास्थ्य संस्था रहेको बाँकेको नेपालगन्ज सहरमै मातृ मृत्युदर उच्च रहेको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा तीन आमाको मृत्यु भइसकेको छ ।
गत वर्ष पनि पाँच आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगन्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या पनि धेरै छ ।
स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष बाहिरी जिल्लाबाट उपचार गर्न आएका सात गर्भवती/सुत्केरीको नेपालगन्जमा मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी श्रेष्ठले नेपालगन्जपछि नरैनापुरमा मृत्यु हुनेको सङ्ख्या धेरै रहेको बताउनुभयो ।
गत वर्ष नरैनापुरमा चार जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो । खजुरा गाउँपालिकामा तीन जना, राप्तीसोनारीमा दुई जना, कोहलपुर नगरपालिका, वैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा एक/एक गर्भवती/सुत्केरीको मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालयका फोकल पर्सन विष्णु श्रेष्ठले आव २०७९/८० मा बाँकेमा १८ जना गर्भवती/सुत्केरीको मृत्यु भएको जानकारी दिनुभयो । यो वर्ष बाहिरी जिल्लाबाट आएका ११ आमाको मृत्यु भएको छ ।
आव २०७८/७९ मा बाँके र बाहिरी जिल्लाका गरी ३२ जना र आव २०७७/७८ मा बाँके र बाहिरी जिल्लाका गरी बाँकेमा ४७ जना गर्भवती/सुत्केरीको मृत्यु भएको थियो ।
बाँकेको नेपालगन्ज र कोहलपुरमा ठुला ठुला अस्पताल रहेका र अन्य पालिकामा पनि सुविधासम्पन्न स्वास्थ्य संस्था रहँदासमेत गर्भवती/सुत्केरीको मृत्युदर कम हुन सकेको छैन । बजारमै गर्भवती/सुत्केरीको मृत्यु बढी हुनुमा घरपरिवार नै जिम्मेवार रहेको नेपालगन्जस्थित भेरी अस्पतालले जनाएको छ ।
घरपरिवारले सकेसम्म घरमै सुत्केरी गराउने प्रयास गर्ने र अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पतालमा लैजाने गरेकाले आमाको मृत्यु नरोकिएको सो अस्पतालले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके