सूचनाको शक्ति - The Power Of Information

        

गाउँमा बौरिँदै विकास

हुलाकी सडकले फेरिँदै जनजीवन, सुगम बन्दै दुर्गम गाउँ

‘हुलाकी सडक बनेपछि सर्वसाधारण जनताको जीवनयापनमा ठूलो प्रभाव परेको छ, अब सहरमा काम गरेर साँझ घर फर्किन सक्ने स्थिति बनेको छ ।’

बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुसी छन् । ‘घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त हामीलाई जता जान पनि सजिलो भएको छ,’ सडक नै नहुँदा बसेको बस्तीमा खेती किसानी गर्दै आएका वलीले भने ।

उनका अनुसार हुलाकी सडक बनेपछि अब बजारमा किनमेल गर्न जान, बिरामी हुँदा अस्पताल जान धेरै सजिलो भएको छ, सडक बन्दा दुई कट्ठा जमिन खेर गयो तर अहिले सडकले जग्गाको भाउ पनि बढाएको छ । राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर बिष्ट नेपालगन्जबाट दैनिक मोटरसाइकलमा विद्यालय जाने आउने गर्छन् ।

दुई वर्षअघिसम्म बिनौना गाउँमै डेरा खोजेर बस्दै आएका बिष्ट फत्तेपुरदेखि नारायणपुर हुलाकी सडक पक्की बनेपछि अहिले नेपालगन्जबाटै आवतजावत गर्न थालेका हुन् । सडक बनेपछि घरदेखि आधाघण्टामै पुगिने भएपछि अहिले घरबाटै आउन जान सम्भव भएको प्रधानाध्यापक बिष्टले बताए ।

‘हुलाकी सडक बनेपछि सर्वसाधारण जनताको जीवनयापनमा ठूलो प्रभाव परेको छ, अब सहरमा काम गरेर साँझ घर फर्किन सक्ने स्थिति बनेको छ,’ प्रधानाध्यापक विष्टले भने, ‘रोजगारीको लागि पनि नेपालगन्ज गएर आउन सक्ने अवस्था भयो । यतै पनि रोजगारी खुलेका छन् ।’ नेपालगन्ज–बघौडा ४४ किलोमिटर र फत्तेपुर–नारायणपुर २१ किलोमिटर हुलाकी सडकले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ । बिनौना र बैजापुर चोक अहिले बजारको रुपमा विकसित हुँदै गएका छन् ।

पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बिनौनामा अहिले ठूला पसल, होटल र मेडिकल खुलेपछि स्थानीय खुसी छन् । राप्तीसोनारी–४ बैजापुरका अगुवा तुलसी थारुका अनुसार हुलाकी सडक बैजापुर र बिनौनावासीको लागि वरदानै सावित भएको छ । हुलाकी सडक बनेपछि अब गाउँको उत्पादन सहज तरिकाले आधा घण्टामै नेपालगन्ज पुगेर बिक्री वितरण गर्नसक्ने अवस्था सिर्जना भएको छ । उनले भनिन्, ‘मौसम अनुसारको तरकारी उत्पादन गरेर बजार पु¥याउँदा किसानको आम्दानीको स्तर बढेको छ ।’

दुर्गम गाउँ सुगम बन्दै

बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुर देखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रुपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगन्ज पुग्ने गरिएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए ।

‘पहिले भारतको बाटो हुँदै नेपालगन्ज पुग्नुपथ्र्यो, अहिले आधाघण्टामै पुगिन्छ,’ यादवले भने, ‘हुलाकी सडक नरैनापुरबासीको लागि ‘लाइफलाइन’ बन्न पुगेको छ ।’ नेपालगन्जदेखि नरैनापुरको सुइया बघौडासम्म हुलाकी सडक पुगेपछि स्वास्थ्य र शिक्षामा पनि उल्लेख्य प्रगति भइरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए । उहाँले नेपालगन्ज–बघौडा ४४ किलोमिटर हुलाकी सडकको निर्माण र कोहलपुर–धामपुर–सुईया बघौडा विद्युतीकरणको काम पूरा भएपछि नरैनापुरवासीको मुहार उज्यालो हुँदै गएको उल्लेख गरे ।

यातायातका साधन सञ्चालन भएपछि भारतमा निर्भर रहँदै आएका गाउँको सम्बन्ध सिधा नेपालगन्ज सहरसँग जोडिएको छ । नरैनापुर गाउँपालिकाका स्थानीय अगुवा बिक्रम यादवले हुलाकी सडक कालोपत्र भएसँगै अहिले दैनिकरूपमा क्षेत्रमा बस, जीप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवतजावत गर्न थालेको बताए । उनका अनुसार, सडक पुगेपछि स्थानीय उत्पादनको बजारीकरणमा पनि सहज हुँदै गएको छ ।

बघौडामा उत्पादित वस्तुहरु सिधै सदरमुकाम पुग्न थालेका छन् । शिक्षा, स्वास्थ्य, यातायात लगायत विकासको पूर्वाधारले गति लिन थालेपछि सो क्षेत्रको महत्व पनि बढ्दै गएको छ । गाउँमा सडक नपुग्दा सीमापारी भारतमा दैनिक उपभोग्य सामान किनबेच गर्नुपर्ने बाध्यता पनि अहिले समाप्त भएको छ । हुलाकी सडकले सो क्षेत्रको मुहार नै फेरिदिएको यादवको भनाइ छ ।

हुलाकी सडकले गाउँबस्तीको मुहार फेर्दै

नेपालगन्ज–गुलरिया हुलाकी सडक विस्तारको काम धमाधम अघि बढेपछि स्थानीयवासी उत्साहित देखिएका छन् । हुलाकी सडक अन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्रावेल गर्ने कार्य भईरहेको छ । एक वर्षको अवधिमानै सडकको मुहारै फेरिने गरी काम भएको जानकी–४ नहरचोकका दिनेश बर्माले बताए । ‘यही गतिमा काम भए हाम्रो घरै अगाडि छिटै चारलेन सडक बन्ने छ,’ बर्माले खुशी हुँदै भने, ‘यति छिटो काम भएकोमा स्थानीयवासिन्दा सबै खुशी भएका छन् ।’

गत वर्षको भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्का सम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माण कार्य सुरु भएको हो । यो सडक निर्माण भएपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगन्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको छ ।

खजुरामा निर्माणाधिन चारलेन सडक निर्माण लामो समयसम्म अलपत्र हुँदा निराश बनेका स्थानीयवासीमा अहिले सडक विस्तारको काम धमाधम हुँदा उत्साह थपेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । उनले नेपालगन्ज–गुलरिया सडक विस्तारको काम अहिले उत्साहजनकरुपमा भइरहेको उल्लेख गर्दै यहि गतिमा काम सम्पन्न गर्न गराउन आफूले आवश्यक पहल गरिरहेको सुनाए । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी शर्मा एण्ड कम्पनीका प्रतिनिधि नवीन शर्माले सम्झौता अवधिभन्दाअगावै सकिने गरी काम गरिरहेको बताए ।

बाँकेमा अहिले राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि वैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगन्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगन्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक निर्माण कार्य भईरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए ।

उनका अनुसार, राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्रे काम एपिक्स कन्काई खड्का जेभीले रु.७६ करोडको लागतमा गरिरहेको छ भने नेपालगन्ज–गुलरिया सडकखण्डको २८ किलोमिटर मध्ये ११ दशमलव छ किलोमिटर चारलेन र बाँकी दुईलेनको काम रु दुई अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले गरिरहेको छ ।

यसैगरी नेपालगन्जको पुष्पलाल चोकदेखि पूर्व १० किलोमिटर क्षेत्रको हुलाकी सडक विस्तारको काम ज्ञानिस शारदा जेभीले रु १२ करोडमा विस्तारको काम गरिरहेको छ । फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर कालोपत्रे सडक निर्माण सकिएर रङरोगनको काम भइरहेको छ भने अन्य दुईवटै हुलाकी सडकको काम तीव्र गतिमा भइरहेको इञ्जिनियर पाण्डेले जानकारी दिए ।

हुलाकी सडक अगैयासम्म विस्तार गरिँदै

बाँकेको राप्तीसोनारी गाउँपालिका हुँदै दाङ जोड्ने हुलाकी राजमार्गसँग जोडिएको राप्तीसोनारी–३ नारायणपुरबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत रहेको अगैयासम्म विस्तार गरिने भएको छ । नेपालगञ्जबाट राप्तीसोनारीको नारायणपुर हुँदै दाङ जोड्ने हुलाकी राजमार्गबाट अगैयासम्म जाने एक हजार ५०० मिटर सडकको चौडा र कालोपत्रे गरी विस्तार गर्ने योजना अगाडि बढेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेले बताए ।

केही दिनअघि बाँके आएका सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि उक्त सडकको स्तरोन्नति गर्नका लागि निर्देशन पनि दिएको उनले जानकारी दिए । नारायणपुरदेखि अगैयासम्मको एक हजार छ सय मिटर सडकखण्डको राप्ती नदीस्थित सिक्टाको बाँधसम्म र बाँधलाई छाडेर पारी अगैया बजारसम्मको सडकको स्तरोन्नति गरिने उनले जानकारी दिए ।

नेपालगञ्जदेखि राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दुरी छोटो भएका कारण नेपालगन्जबाट पूर्व–पश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले उक्त सडक प्रयोग गर्दै आएका छन् । नेपालगञ्जदेखि राप्तीपारी हुँदै अगैयासम्मको सडकको दुरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्व–पश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दुरी छ ।

दुरी छोटो पने भएकोले सवारी साधनहरूले अगैयासम्म पुग्नका लागि राप्तीपारीकै सडक रोज्ने गरेका छन् । हुलाकी सडकको नियमित अनुगमन गर्दै आएका बाँके क्षेत्र नं १ का सांसद सूर्य ढकालले काम तीव्र गतिमा सञ्चालनमा रहे पनि निर्माण कम्पनीको मागबमोजिम भुक्तानी, मुआब्जाको समस्या र विद्युत पोलको चुनौती रहेको बताउँदै देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने आश्वासन दिए । उनले हुलाकी सडक निर्माण कार्य समयमै सम्पन्न गर्न आफुले आवश्यक समन्वय र चासो देखाएको बताउँदै हुलाकी सडकले बाँकेवासी जनतालाई विकासको अनुभूति गराएको उल्लेख गरे ।

स्रोत : रासस
प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार ०८:५१

लोकप्रिय