सूचनाको शक्ति - The Power Of Information

        

वायुसेवा निगमको दुुई करोड अझै ह्याकरको हातमा

नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबाट केही महिनाअघि दुई करोड रुपैयाँ ह्याकरले ठगी गरेको पैसा अहिलसम्म प्राप्त हुुन सकेको छैन । निगमको दुबई स्टेसनका कर्मचारीको लापरबाहीका कारण दुई करोड रुपैयाँ ह्याकरले ठगी गरी लगेको पैसा अहिलेसम्म पूर्ताल हुन नसकेको हो ।

बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ई–मेलमार्फत आएको विवरणअनुसार कर्मचारीहरूले रकम भुक्तानी गरिदिँदा निगमले दुुई करोड नोक्सानी भएको स्रोतले जनाएको छ । रकम ह्याकरले लगेको विषयमा निगमले अहिले अध्ययन समिति बनाएर अध्ययन गर्नुका साथै रकम फिर्ता ल्याउनका लागि ३६ लाख रुपैयाँ खर्च गरेर परामर्शदातासमेत नियुक्त गरेको भएपनि सो रकम फिर्ता आउन नसकेको हो ।

गत भदौ महिनामै सो रकम गुुमेको थियो । असोज महिनामा परामर्शदाता नियुक्त भएका थिए । सानो रकमको आदानप्रदानमा समेत दोहोरो जाँच गरेर खाता नम्बर यकीन भएपछि मात्रै भुक्तानी गर्नुपर्ने विषय सामान्य आर्थिक चेतना हुनुपर्नेमा कर्मचारीले भुक्तानी गरिदिएका थिए । निगमको दुबई स्टेसनले क्याटरिङ सेवा दिइरहेको कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम ह्याकरले लगिदिएको स्रोतको दावी छ ।

निगमले ‘इमिरेट्स इन फ्लाइट क्याटरिङ’बाट क्याटरिङको सेवा लिइरहेको छ । सेवा लिएबापत निगमले उक्त कम्पनीलाई किस्तामा रकम भुक्तानी गरिरहेको थियो । ह्याकर समूहले दुबई स्टेसनको ई–मेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खातामा रकम जम्मा गरिदिन भन्दै खाता विवरण पठाएको थियो । स्टेशनका कर्मचारीले उक्त ई–मेलबारे बुझबुझारत नगरी भनिएकै नयाँ खातामा रकम हालिदिँदा निगमको रकम गुमेको स्रोतको दाबी छ ।

‘लामो समय भयो निगमलाई दुई करोड घाटा लागेको रकम फिर्ता आउने संभावना निकै कमजोर छ,’ स्रोतले भन्यो । निगम स्रोतका अनुसार स्टेसनका कर्मचारीले ई–मेल आईडीमा खाता परिवर्तन भएको भन्दै पठाएको सूचना भेरीफाइ नगरी तीन किस्तामा गरी १ करोड ९१ लाख रुपैयाँ पठाएका थिए । त्यसरी रकम पठाइसक्दा पनि क्याटरिङ सेवा दिइरहेको कम्पनीले आफूहरूको भुक्तानी नभएको भन्दै पत्राचार गरेपछि मात्रै ह्याकरको हातमा रकम पुगेको थाह पाएका हुन् ।

उक्त खाताबाट ह्याकरले रकम झिकिसकेको छ । स्टेशनका कर्मचारीले रकम हालिदिएको खातामा अहिले एक रुपैयाँ पनि छैन । स्रोतका अनुसार रकम ह्याकरले लगेको विषयमा निगमले अहिले अध्ययन समिति बनाएर अध्ययन गरेको थियो । सो अध्ययन समितिले के रिपोर्ट बुुझायो भन्नेबारेमा सार्वजनिक गरिएको छैन । साथै, ह्याकरले लगेको रकम फिर्ता ल्याउनका लागि भन्दै निगमले १ लाख दिराम (झण्डै ३६ लाख रुपैयाँ) खर्च गरेर एउटा परामर्शदातासमेत नियुक्त गरेको गरेको थियो ।

जीएसएको सेटिङसँगै ह्याकरले रकम लगेको विषय मिलाउन निगमका अध्यक्ष युवराज अधिकारीसमेत असोजमा दुुबई पुुगेर फर्केका छन् । यस्तो गम्भीर लापरबाही गर्ने कर्मचारीलाई निलम्बन गरी छानबीन गर्नुपर्नेमा अहिलेसम्म निगम व्यवस्थापनले कुनै कारबाही गरेको छैन । अध्यक्ष अधिकारीले आफूनिकट कर्मचारीलाई नै दुबई स्टेशन पठाएकाले पनि उनी घटना लुकाउने प्रयासमा लागिरहेका स्रोतको दाबी छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १७:२१

लोकप्रिय