२०८३ भदौ २१ , आइतबार 7, September 2026, Monday

खजुराका प्रमुख प्रशासकीय अधिकृतको निर्देशन, ‘सेवाग्राहीले दुख पाएको गुनासो नआओस्’

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले सेवाग्राहीलाई चुस्त, दुरुस्त सेवा प्रदान गर्न वडास्थित कार्यालयलाई निर्देशन दिएका छन् ।

खजुरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले लगत्तै उनले वडामा रहेका कार्यालयको निरीक्षण गरि सर्वसुलभ रुपमा सेवा प्रदान गर्न नागरिकको गुनासो सुन्न निर्देशन दिएका हुन् ।

उनले सेवा लिन आएका नागरिकलाई दुख, झन्झट नदिन कर्मचारीलाई निर्देशन दिए । उनीसहितको अनुगमन टोलीले वडाहरुमा पुगेर स्वास्थ्य, शिक्षा र कृषि शाखाको अनुगमन गरेको गाउँपालिकाले जनाएको छ ।

‘सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नुस् । सेवाग्राहीको कुनै गुनासो नआउने गरि सेवा प्रवाह गर्नु राष्ट्रसेवक कर्मचारीको दायित्व हो । सेवा दिएर मात्र भएन । मुस्कानसहितको सेवामा ध्यान दिनुस्,’ कर्मचारीलाई निर्देशन दिँदै उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत रानाले आइतवार नै खजुरा गाउँपालिका १ र २ वडा कार्यालयको पनि अनुगमन गरी कामको बारेमा जानकारी लिएका थिए । उनले सेवाग्राहीको काम गर्दा कुनै समस्या देखिए आफूलाई जानकारी गराउन आग्रह गरे ।

‘सेवाग्राहीले दुख पाएको गुनासो आउन सक्छ । सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्न कर्मचारीले हरसम्भवको प्रयास गर्नुपर्छ । तपाईहरुबाट नहुने कामको लागि मलाई भन्नुस् म सहयोग गर्न तत्पर छु,’ रानाले भने ।

प्रकाशित मिति : २०८० मंसिर २५ गते सोमबार