२०८३ भदौ २० , शनिबार 5, September 2026, Saturday

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ ।

भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।

सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले  बताए । उनले भने, ‘शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि उनलाई पक्राउ गरिएको हो ।’

क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ ।

यद्यपि, उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् । विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ ।

प्रहरीका अनुसार, इजिप्टका नागरिकसँग सम्बन्ध हुनसक्ने भएकाले उनीहरुलाई पक्राउ गरिएको हो । ‘उनीहरुबारे अनुसन्धानबाट खुलेअनुसार गर्ने गरी हाललाई नियन्त्रणमै राखेका छौं’, डीआईजी चन्दले भने ।

सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ मा काठमाडौं अवतरण गरेका थिए । यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११ः४० बजे अवतरण गरेका थिए ।

विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८० मंसिर २४ गते आइतबार