सूचनाको शक्ति - The Power Of Information

        

यातायात कार्यालय अनलाइन प्रणालीमा

सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा तीव्रता दिइएको छ । आर्थिक वर्ष २०८०–०८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजना अनुसार हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ । अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य हुने छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित काम अघि बढाएको थियो । पोखरामा यसअघि नै अनलाइन सेवा सञ्चालन गरिएको थियो । यातायात कार्यालयमा रहेका पुराना ढड्डालाई पनि अनलाइनमा राखिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।

विभागका प्रवक्ता पनेरूले भने, ‘अनलाइनबाट सेवा सुरु भएका छन् । पुराना ढड्डालाई पनि अनलाइनमा राख्ने काम हुन्छ । अबको एक डेढ वर्षमा पुराना ढड्डा पनि अनलाइनमा राख्ने काम सकिन्छ ।’ अनलाइन सेवाप्रवाह गरिरहेको यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरका निमित्त कार्यालय प्रमुख राजकुमार कपालीले बताए ।

उनले भने, ‘अनलाइनबाट सेवा सुरु भएपछि लामो लाइन बस्नुपरेको छैन । सेवाग्राहीलाई सास्ती कम भएको छ । केही प्राविधिक कुराले गर्दा बेलाबेलामा समस्या आउने गरेको छ । यसको पनि व्यवस्थापन हुन्छ ।’ यसैबीच सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को पूर्ण छपाइको काम एक महिनापछि सुरु हुने भएको छ ।

छपाइ कार्ड सकिएपछि विगत छ महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको यातायात व्यवस्था विभागले पुस अन्तिमसम्म कार्ड आएपछि छपाइ सुरु हुने जनाएको छ । विभागका अनुसार हाल १२ लाखप्रति लाइसेन्स छाप्न बाँकी छ । जर्मनीको मुलभर्ग कम्पनीबाट कार्ड ल्याइँदै छ । पहिलो चरणमा छ लाखप्रति कार्ड आउँदै छ ।

त्यसको ८० दिनपछि थप छ लाखप्रति कार्ड आउने विभागका प्रवक्ता पनेरूले जानकारी दिए । उनले पहिलो चरणमा आउने कार्डको गुणस्तर परीक्षण गरेपछि छपाइ सुरु हुने बताए । हाल लाइसेन्सको माग दैनिक करिब पाँच हजारप्रति छ । दुई चरणमा आउने १२ लाखप्रति लाइसेन्स छाप्न बाँकी प्रिन्ट गर्दा सकिन्छ ।

थप कार्डका लागि नयाँ टेन्डर र मेसिन खरिद प्रव्रिmया अघि बढेको विभागले जनाएको छ । विभागका अनुसार श्रम र अध्ययनमा विदेश जाने नेपाली र शान्ति मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरीका सवारीचालकलाई भने निवेदन दिएको दुई तीन दिनमै लाइसेन्स उपलब्ध गराइँदै आएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतवार ११:५८

लोकप्रिय