सूचनाको शक्ति - The Power Of Information

        

केएमसीमा ‘विश्वकै दुर्लभ’ क्यान्सरको बिनाचिरफार सफल उपचार

काठमाडौं मेडिकल कलेजमा ‘विश्वकै दुर्लभ’ क्यान्सरको बिनाचिरफार सफल उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटरभन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो ।

बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा. पंकज काफ्लेले जानकारी दिए । एक सेन्टिमिटरभन्दा सानो क्यान्सर पत्ता लगाएर बिनाचिरफार सफलतापूर्वक नष्ट गरिएको यो विश्वमै दुर्लभ ‘केस’ भएको उनको भनाइ छ ।

नेपालमा पहिलोपटक यस्तो केसको सफलतापूर्वक उपचार गरिएको उनले दाबी गरे । केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा.काफ्लेसहितको टोलीले क्यान्सर सेल नष्ट गरेको हो । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिनाचिरफार क्यान्सर नष्ट गरिएकाले बिरामीलाई सहज भएको जनाइएको छ । यो प्रविधिबाट बिनाचिरफार, कडा औषधि र रेडियोथेरापी प्रयोग नगरी सहज रूपमा ट्युमरलाई नष्ट गर्न सकिने चिकित्सकको भनाइ छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १६:३५

लोकप्रिय