सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सञ्जालको दुरुप्रयोग

मौलाउँदै यौनधन्दा, अनलाइन सजिलो माध्यम अरुभन्दा

कामको खोजीमा गाउँघरबाट सहर छिरेका किशोरी, युवती र महिलालाई आकर्षक तलब सुविधासहितको जागिर लगाइदिने प्रलोभनमा यौनजन्य क्रियाकलाप गर्न बाध्य बनाउने गरिएको पाइन्छ ।

पछिल्लो समय विभिन्न प्रलोभनमा बालिका, युवती र महिलालाई यौनधन्दामा सहभागी गराउने गिरोह सक्रिय देखिन्छ । विदेशमा आकर्षक तलब सुविधासहितको रोजगारी लगाइदिने आश्वासनमा ग्रामीण भेगका चेलीबेटीलाई विभिन्न मुलुक पुर्याएर यौनधन्दामा लगाउने गरिएकोमा अहिले मुलुकभित्रै यस्ता गतिविधि हुने गरेको छ । राजधानीका विभिन्न स्थानबाट अनलाइनमार्फत यौनधन्दा सञ्चालन गर्दै आएको गिरोहलाई प्रहरीले आइतबार र सोमबार नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने सात जनालाई समातेको जानकारी दिएको छ । हालसम्म पक्राउ परेकामा ललितपुर बस्दै आएका रामेछापका छत्रबहादुर रोक्का, कागेश्वरी मनोहरा बस्ने ओखलढुंगाका गोपाल थापा, कालोपुल बस्ने सिन्धुलीका सेते कार्की, बालाजु बस्ने सल्यानका शिवराज परियार, काठमाडौं बस्ने नुवाकोटका अमृत रोक्का, लाजिम्पाट बस्ने काभ्रेपलाञ्चोकका सुरेशकुमार श्रेष्ठ र कलंकी सुरज खड्का हुन् ।

उनीहरु यौन व्यवसाय सञ्चालन गर्दै आएको गिरोहका नाइके रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दरबारमार्ग, नयाँ बसपार्क, गोंगबु, बानेश्वर लगायतका विभिन्न स्थानबाट उनीहरुले सामाजिक सञ्जालमार्फत् यौन व्यवसाय चलाउँदै आएको बताइन्छ । नाबालिकालाई यौन क्रियाकलापमा संलग्न गराएको अभियोगमा काठमाडौंको नयाँ बसपार्क बस्दै आएकी तनहुँकी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् ।

नयाँ बसपार्क, कलंकीका विभिन्न होटल तथा गेष्ट हाउसमा नाबालिकाहरुलाई विभिन्न प्रलोभनमा यौन गतिविधिमा लगाएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई गत बिहिबार पक्रेको थियो । अनुसन्धानको क्रममा उनले ती नाबालिकालाई विभिन्न काम र आकर्षक तलब सुविधाको प्रलोभनमा पारेर आफ्नो तथा अन्य होटल, गेष्ट हाउसमा समेत पठाएर विगत १० महिनादेखि जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको तथ्य खुलेको छ ।

यसबीचमा ब्यूरोले कंलकीबाट एक र नयाँ बसपार्कबाट दुई गरी तीन जना नाबालिकाको उद्धार गरेको छ । त्यस्तै, सपनामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । यसअघि मंसिर १२ गते राजधानीको ब्यूटी पार्लर तथा स्पा सेन्टरमा नाबालिक र युवतीलाई वेश्यावृत्तिमा लगाएको तथ्य खुलेको थियो । रोजगारीको प्रलोभनमा उक्त कार्यमा लगाइएको आरोपमा काठमाडौं महानगरपालिका–९, रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक संखुवासभाका ४३ वर्षीय दिनेश पौडेल पक्राउ परेका थिए ।

उनले स्पा सेन्टरमा दुई नाबालिका र एक युवतीलाई वेश्यावृत्तिमा लगाई यौन शोषण गरेको प्रहरीको आरोप छ । प्रहरीका अनुसार पौडेलले आकर्षक तलब सुविधाको प्रलोभनमा स्पा सेन्टरमा बोलाई मसाजसँगै शारीरिक सम्पर्क गराउन लगाउने गरेको पीडितहरुको भनाई छ । उक्त कार्य गर्न नमानेको अवस्थामा अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा आफन्तलाई पठाइदिने धम्की दिँदै वेश्यावृत्तिमा लाग्न बाध्य बनाएको पनि खुलेको छ ।

रातो पुल र काठमाडौं एयरपोर्ट नजिकैका उनका दुई वटा स्पा सेन्टरमा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा जनाइएको छ । आर्थिक अवस्था कमजोर भएका र अशिक्षित ग्रामीण भेगका किशोरी, युवती र महिलालाई रोजगारीको प्रलोभनमा वा विभिन्न तालिम प्रदान गर्ने नाममा सहर ल्याएर यौनधन्दामा लगाउने क्रम बढेको पाइन्छ । कामको खोजीमा गाउँघरबाट सहर छिरेका किशोरी, युवती र महिलालाई आकर्षक तलब सुविधासहितको जागिर लगाइदिने प्रलोभनमा यौनजन्य क्रियाकलाप गर्न बाध्य बनाउने गरिएको पाइन्छ ।

पछिल्ला दिनमा अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने क्रम पनि बढ्दो छ । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको तस्बिर पठाउने र मोलमोलाई गर्ने गरिएको भेटिएको छ । होटल, रेस्टुरेन्ट, गेष्ट हाउसहरुमा पनि यौनधन्दा मौलाएको प्रहरीको पछिल्लो अनुसन्धानबाट पनि देखिन्छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनी ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका र अशिक्षित बालिका, युवती र महिलालाई गिरोहले रोजगारीको प्रलोभनमा सहर ल्याएर यौनधन्दामा लाग्न बाध्य बनाउने गरेको बताउँछन् ।

उनका अनुसार एकथरी बताएर बिस्तारै यौनजन्य क्रियाकलापमा बाध्य बनाउने गरेको भेटिएको प्रवक्ता पंगेनीको भनाई छ । योसँगै सामाजिक सञ्जालको दुरुपयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने पनि बढेको उनको दाबी छ । ‘यौन व्यवसाय सञ्चालन गर्न नयाँ नयाँ तरिका अपनाइएको छ । अनलाइनमार्फत युवतीको आकर्षक तस्बिर पठाई मोलमोलाई गर्ने गरेको पाइएको छ,’ उनले भने । प्रहरी हेर्डक्वाटरको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा बालयौन दुरुपयोगको आरोपमा एक हजार ३८१ जना पक्राउ परेका छन् । गत वर्ष ३४३ जना बालयौन दुरुपयोगको आरोपमा पक्राउ पर्दा त्यसअघि ३१४ जना पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०७७–०७८ मा २८१ जना सोही आरोपमा समातिँदा आर्थिक वर्ष २०७६–७७ मा २३२ जना पक्राउ परेको जनाइएको छ । त्यसअगाडि आर्थिक वर्ष २०७५–७६ मा २११ जनालाई प्रहरीले बालयौन दुरुपयोगको आरोपमा नियन्त्रणमा लिएको थियो । पछिल्लो पाँच वर्षमा मानव बेचबिखनमा परेका एक हजार दुई जनाको उद्धार समेत गरिएको छ । आर्थिक वर्ष २०७५–०७६ मा मानव बेचविखनमा परेका ५२१ जनाको उद्धार गरिएको थियो । आर्थिक वर्ष २०७६–०७७ मा १३१ जनाको उद्धार हुँदा आर्थिक वर्ष २०७७–०७८ मा मानव बेचबिखनमा परेका १३३ जनाको प्रहरीले उद्धार गरेको थियो । गत आर्थिक वर्ष २०७८–०७९ मा मानव बेचबिखनमा परेका २५१ जनाको उद्धार गरिएको प्रहरी तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १५:२१

लोकप्रिय