सूचनाको शक्ति - The Power Of Information

        

रोल्पाबाट लडाइँ लड्न सोझै रुसतिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रूस पुगेका रोल्पाका २७ वर्षीय खुमराज २२ दिनमै अत्तालिएका छन् । मानव तस्करलाई साढे ५ लाख रुपैयाँ तिरेर ‘रूसी सेनाको सपना’ पछ्याउँदै मस्को उडेका उनी ‘युद्ध मैदानमा खट्नुअघि’ नै छट्पटीमा छन् ।

‘एजेन्टहरूले भ्रम छरेजस्तो धेरै कमाइ र सजिलै पीआर पाउने कुरा सत्य लागेन । रूसी सेनामा भर्ना भएको दुई हप्ता पूरा भयो । हामीहरू तालिम केन्द्रमा छौँ । अहिलेको लटमा चार जना नेपाली छौँ । मलाई राम्ररी बन्दुक बोक्न पनि आउँदैन । तर लड्न जाने टिममा मेरो नाउँ आइसक्यो,’ खुमराजले भने ।

दुई हातले बन्दुक समातेको छोटो समयमै ‘रूसी नाइके’ले भनिदियो, ‘युक्रेनपट्टी लड्न जा’ । दोधारमै छन् उनी भाग्ने कि ‘अग्रमोर्चा’मा खटिने ! ‘घर–परिवार, लडाइँ र एउटा सपना’ देख्दै टोलाइरहेका उनी एक्ला व्यक्ति होइनन् । उनीजस्ता दर्जनौँ कलिला युवाहरू छन्, जो पहिलो पटक ‘बम, बारुद र बन्दुक’सँग खेल्दैछन् ।

उनका अनुसार नेपाल र अरु पनि बाहिरी देशका युवालाई रूसले त्यसैगरी भित्र्याइरहेको छ । एक–दुई हप्ता नाम मात्रैको तालिमपछि रूसले आफ्ना सैनिकको अग्रमोर्चामा नेपालीजस्तै अरु देशका तन्नेरीहरूलाई खडा गर्छ । रूसको आफ्नै सैनिकहरू भने पछिल्ला र बाहिरी घेरामा हुन्छन् ।

‘हामीहरूले प्लान बनाइरहेका छौँ, मर्न जाने कि अब घर फर्किने ! लडाइँ झन्–झन् चर्किंदैछ, यस्तो अवस्थामा रेडजोनमा जानु भनेको मर्न जानु हो । जानीजानी मर्नचाहिँ किन जाने ? एजेन्टलाई पनि भनिसक्यौँ । ऊ हामीहरूलाई गाली गर्दैछ, थर्काउँदैछ,’ खुमराजले भने, ‘एजेन्टले प्रलोभन देखाएर फसायो, हामीहरू जसरी पनि घर फर्किन्छौँ ।’

यसरी नेपालीलाई त्यहाँ पु¥याउन मानव तस्करीको जालो मस्कोदेखि काठमाडौँसम्म फिँजिएको छ । एजेन्टहरूले नेपाली युवालाई ‘भिजिट भिसा’ मिलाएर विभिन्न रुटबाट रूससम्म पुर्याउँछन् र त्यहाँ भएका एजेन्टहरूले सिधै रूसी सेनाको क्याम्पमा पुर्याउँछन् । बेरोजगारी र आर्थिक अभाव झेलिरहेको युवा जमातलाई अनेकौँ लोभ देखाउँदै दलालहरूले ‘मृत्यु मार्ग’तिर धकेल्दैछन् ।

राहदानी खल्तीमा बोकेर हिँडिरहेका युवाहरू मानव तस्करलाई लाखौँ तिरेर जीवन सुम्पिँदै धमाधम रूस उडिरहेका छन् । त्यो पनि ज्यानकै बाजी थाप्न । रूस पनि यही चाहन्छ । सेनामा भर्ती भएपछि ‘धेरै पैसा र तत्कालै रूसी नागरिकता’ आँखैअघि कल्पिँदा क्षणभरमै लोभिन्छन् नेपाली । र, घर–परिवार र आफन्त छल्दै मस्को उड्छन् ।

कृषितिरको पढाइ सकेर ‘घर–परिवारको ऋण तिर्न’का लागि थप पाँच लाख ऋण काढेर रूस हानिएका खुमराज मस्कोमा अलपत्रै छन् । उनीसित पाँचथर, सल्यान र रोल्पाकै अरु तीन युवा छन् । दलालको फन्दामा परेर सेनामा भर्ती हुने सपना बोकी रूस पुगेको उनीहरूको गुनासो छ ।

‘काठमाडौँबाट ६ जना आएका थियौँ । अहिले चार जना छौँ । दुई जना साथीहरू मस्को आएको केहीदिनमै रूसले कब्जा जमाएको युक्रेनी सीमातिर गइसके,’ खुमराजले भने, ‘ती साथीहरू नेपालका पूर्वसैनिक रहेछन् । मस्को गएको तीन हप्तामै भयावह युद्ध भइरहेको ठाउँमा खटाउन थाल्दा उनीहरू घर फर्किने सुर कस्दैछन् ।

नेपालीहरूमा पैसाका लागि युक्रेनविरुद्ध लडाइँ लड्ने तीव्र हुटहुटी छ । जब उनीहरू रूस पुग्छन्, तब मात्रै पीडाका पहाड देख्छन् । र, मस्कोस्थित दूतावासकहाँ ‘घर फर्काइदेऊ’ भन्दै बिन्ती बिसाउँछन् । उसो त तालिम केन्द्रबाट भाग्न खोज्दैछन् खुमराज । ‘रेडजोन’मा खट्न तयार छैनन् उनी । मस्कोबाट भागेर नेपाल फर्कने मेसो मिलाउँदैछन् ।

र, सेनामा भर्ती हुने ‘रूसी सपना’ थन्क्याउँदै छन् । तर भनेजस्तो सजिलो त पक्कै छैन । किनकि क्याम्प लैजानुअघि नै उनीहरूलाई एउटा ‘एग्रिमेन्ट’मा हस्ताक्षर गराइन्छ, त्यो भनेको मासिक पैसा दिनेगरी रूसको सैनिकले उनीहरूलाई किनेको हो । त्यो कागजअनुसार कम्तीमा एक वर्ष उनीहरूले त्यसरी नै लडाइँको अग्रमोर्चामा खटिनुपर्ने हुन्छ । भाग्ने प्रयासमात्रै गर्दा रूसको सैनिकले उनीहरूलाई बन्दी बनाइहाल्छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १२:२३

लोकप्रिय