जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बिहीबार नेपालगन्जका विभिन्न पानी उत्पादन उद्योगहरूको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा मापदण्ड विपरीत काम गरी सञ्चालन भइरहेका तीन वटा पानी उद्योगलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
प्रजिअ पोखरेलका अनुसार नेपालगन्ज ११ मा सञ्चालित रारा प्रोसेसिङ्ग ड्रिङ्किङ्ग वाटर इन्डष्ट्रिले अनुमतिपत्र नलिई उद्योग सञ्चालन गरेको, उद्योगको निर्माण कार्य भइरहँदा लापरबाही तरिकाले असुरक्षित ढङ्गले पानी उत्पादन गरेको पाइएकाले २० हजार रुपियाँ कारबाही स्वरूप जरिवाना गरिएको बताउनुभयो ।
उद्योगमा रहेका थोत्रा र पुराना २० थान जार समेत नष्ट गरिएको र सो उद्योगबाट पानी उत्पादनमा प्रयोग भएको पानी (कच्चा पदार्थ) र उत्पादन भएको पानीको छुट्टाछुट्टै दुई वटा नमुना परीक्षणका लागि सङ्कलन गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी वाइके ड्रिङ्किङ्ग वाटर इन्डष्ट्रिले असुरक्षित तवरले पानी उत्पादन गरेको पाइएकाले सुरक्षित तवरले पानी उत्पादन सुनिश्चित नहुँदासम्मका लागि उद्योग शील गरिएको र सो उद्योगबाट उत्पादनमा प्रयोग भएको पानी (कच्चा पदार्थ) र उत्पादन भएको पानीको छुट्टाछुट्टै दुई वटा नमुना परीक्षणका लागि सङ्कलन गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
न्यू सगरमाथा पानी उद्योगले बिल बिजकबिना कारोबार गरेको पाइएकाले ५ हजार रुपियाँ जरिवाना गरिएको र उत्पादनमा प्रयोग भएको पानी (कच्चा पदार्थ) र उत्पादन भएको पानीको छुट्टाछुट्टै दुई नमुना परीक्षणका लागि सङ्कलन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
प्रजिअ पोखरेलका अनुसार नेपाल खानेपानी संस्थानबाट वितरण हुने पानी र नगरक्षेत्र भित्रको ह्याण्डपम्पको पानीको समेत नमुना परीक्षणका लागि सङ्कलन गरिएको छ । प्रयोगशालामा परीक्षणपश्चात् आउने नतिजाका आधारमा कैफियत पाइएमा कानुनअनुसार थप कारबाही गरिने उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायहरूको सहभागितामा बिहीबार पानी उद्योगहरूको अनुगमन गरिएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके