सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा दुई दिनमा सय पिन्ट रगत सङ्कलन

पश्चिम नेपालका विभिन्न जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आउने नेपालगन्जमा रगतको अभाव टार्न रक्तदान कार्यक्रम निरन्तर भइरहेका छन् ।

यहाँ रगतको माग सधैँ उच्च रहने गरेकाले रक्तदानका लागि प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जले गरेको रक्तदानको आह्वान अनुसार रक्तदान कार्यक्रम हुँदै आएका हुन् ।

सोही आह्वान बमोजिम बाँके जिल्लाका विभिन्न संघसंस्थाले बेला बेलामा रक्तदानको आयोजना गरेर रगत सङ्कलन गरी सहयोग गर्दै आएकाले रगत अभाव टार्न ठुलो सहयोग पुग्ने गरेको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रले जनाएको छ ।

प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले चिसोको मौसम सुरु भएसँगै बाँकेमा फेरि रगत अभाव हुन थालेपछि रक्तदानका लागि सङ्घसंस्था र व्यक्तिहरुसँग अनुरोध गरिएको बतानुउभयो । सोही बमोजिम दुई दिनको अवधिमा दुईवटा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट सय पिन्ट रगत सङ्कलन भएको उहाँले जनाउनुभयो ।

प्रमुख रेग्मीले नियमित रक्तदान गराउँदै आएको जनमत अर्धसाप्ताहिक र स्वयंसेवी रक्तदाता समाज बाँकेले आयोजना गरेको कार्यक्रममा ५२ जना तथा वर्माकुर्मी सहयोगी हात बाँकेले आयोजना गरेको कार्यक्रममा ४८ जनाले रक्तदान गरेपछि १०० पिन्ट रगत सङ्कलन भएको बताउनुभयो ।

उहाँले यस अघि जाजरकोटका भूकम्पपीडितका लागि भनेर विभिन्न सङ्घसंस्थाद्वारा सङ्कलन गरिएको तीनसय बढी पिन्ट रगतले हालसम्म धानेको जनाउँदै अहिले दुई दिनमा सङ्कलन भएको सय पिन्ट रगतबाट पनि केही दिनलाई पुग्ने बताउनुभयो ।

२०६३ सालदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाउँदै जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले कोरोनाको समयमा पनि रक्तदानलाई नियमित राखिएको बताउनुभयो । उहाँले रक्तदानको ५८ औं शृङ्खलासम्म पुग्दा तीन हजार पिन्टभन्दा बढी रगत सङ्कलन गरेर रक्तसञ्चार केन्द्रलाई दिइसकेको बताउनुभयो ।

सोही प्रकारले बेला बेलामा रक्तदान आयोजना गर्दै आएको वर्माकुर्मी सहयोगी हात बाँकेका संयोजक डा. कौशलकुमार वर्माले रक्तदान जस्तो महान् कार्य अरु कुनै नभएको जनाउनुहुँदै यसलाई निरन्तरता दिने बताउनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १६:५८

लोकप्रिय