सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिमा रस पसेन, कृषिबाट चिनिए गुप्तप्रसाद

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडा सदस्य निर्वाचित भए । त्यसपछि उनले राजनीतिमा मन लगाएनन् । रेग्मीको मन वैदेशीक रोजगारीतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उनी स्वदेश फर्किए ।

उनै रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित भएका छन् । वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गरेका उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे । रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उनले विदेशमा देखेसिकेको कुरा नै मुख्य हो ।

‘दुईपटक कतार गएँ, त्यहाँ पुग्दा एभोकाडो खाएँ । तर, त्यसको स्वाद पाइनँ,’ रेग्मीले भने, ‘त्यसपछि अस्ट्रेलिया गएँ, त्यहाँ पुग्दा छोरीहरुबाट एभोकाडोको बारेमा र गुणको बारेमा जान्ने अवसर पाएँ ।’ एभोकाडो चिसो ठाउँमा हुन्छ भन्ने थाहा पाएपछि नेपाल फर्किएर गैँडाकोट–१८ मा जग्गा किनेको रेग्मीले सुनाए । ‘चिसो हावापानी भएको ठाउँ हो, १३ रोपनी १४ आना जग्गा खरिद गरे,’ उनले कृषि व्यावसायिकताको कथा सुनाउन थाले ।

दश बोट सुन्तलाबाट पन्ध्र सय

विसं २०७५ मा १० बोट सुन्तला लगाएका रेग्मीको फार्ममा अहिले १५ सय सुन्तलाका बोट छन् । फलफूल खेती गर्न सुरु गर्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे । धनकुटाको पारी पात्ले पुगेर कागतीको बिरुवा लिएर आएका रेग्मीले कागतीको बिरुवासँगै १० ठूला सुन्तलाको बिरुवा पनि लिएर आएको अनुभव सुनाए । ‘सुरुमा १० सुन्तला र ४०० कागतीबाट फलफूल खेती सुरु गरेँ,’ उनले भने, ‘विसं २०७६ बाट सुन्तला थप्न सुरु गरिएको हो, अहिले डाँडाभरि सुन्तला छन् ।’

अहिले रेग्मीको फार्ममा सुन्तलाको एक हजार ५०० बोटबिरुवा, कागतीका ९००, निबुवाका ३००, मौसमका २००, किन्नुका (माघको अन्तिमतिर पाक्ने फलफूज प्रजाति) १००, आँखे टिमुरका १००, लप्सीका ६० बोटबिरुवाका साथै स्याउ, किबी, आँप, लिची र एभोकाडोसहितका फलफूलका बोटबिरुवा छन् । उनको फार्ममा सुरुआती समयबाट अहिलेसम्म सबै गरी रु दुई करोड ५० लाख बढी लगानी भइसकेको बताए ।

आम्दानी लिन सुरु

रेग्मीले फार्ममा लगाएका फलफूलका बोटबिरुवाले गत वर्षदेखि आम्दानी दिन सुरु गरेका छन् । ‘गत वर्ष फलफूल बिक्रीबाट रु दुई लाख जति आम्दानी गरेकामा अहिले रु १० लाख जति आम्दानी होला,’ उनले भने, ‘अझै केही फलफूल टिप्न बाँकी छन्, फलफूलका बिरुवाबाट अर्को साल रु २० लाखभन्दा बढीको आम्दानी हुने अपेक्षा छ । अब फलफूलबाट हुने आम्दानी बढ्दै जान्छ ।’

यस वर्ष सुन्तलाको ४०० बोटबाट मात्रै आम्दानी भएको भन्दै उनले आगामी वर्षबाट करिब एक हजार सुन्तलाको बोटले आम्दानी दिन सुरु गर्ने बताए । ‘अब करिब ५०० बोट कागतीले आम्दानी दिन सुरु गर्ला कागतीले पनि अहिलेको भन्दा दोब्बर आम्दानी हुन्छ,’ उनले भने । यस वर्ष सुन्तला, कागती, निबुवा, टिमुर लगायतका बोटबाट आम्दानी लिन सुरु भएको छ ।

फलफूल खेतीको क्षेत्रफल विस्तार

रेग्मीले पाँच वर्ष अगाडि १३ रोपनी १४ आना जग्गाबाट सुरु गरेका फलफूल खेतीको क्षेत्रफल गर्दै अहिले ८२ रोपनी क्षेत्रफलमा फलफूल खेती गरेका छन् । उनले सुरुमा रु ५० हजार प्रतिरोपनीका दरले जग्गा किनेको बताए । जग्गा किनेर पास गरेपछि मात्रै यस ठाउँमा आएको भन्दै उनले भने, ‘जग्गा किनेपछि यहाँ आउनका लागि राम्रो सडक थिएन । खाल्डाखुल्डी भएका सडक पार गरेर आउनुपर्ने थियो ।’

सार्वजनिक सवारीसाधन ठाउँठाउँमा धकेल्दै आउने गरेको भन्दै अहिले बाटो सहज हुँदा आउजाउ गर्न सजिलो भएको रेग्मीले बताए । ‘बाटो अलि सहज भएपछि मैले कार बेचेर पिकअप किनेँ, यो पिकअपबाट आउनजान सहज भएको छ,’ उनले भने । उनले १३ रोपनीमा मात्रै फलफूल खेती गरेर मन नमानेपछि विस्तारै जग्गा थप गर्दै लगेको सुनाए ।

पछि थप गरेको जग्गा रु ८० हजारदेखि रु तीन लाख प्रतिरोपनीसम्मका दरले खरिद गरेको बताउँदै उनले फलफूल खेतीबाट सन्तुष्ट भएको बताए । ‘फलफूल खेतीबाट निकै सन्तुष्ट छु, अब मेरो फलफूल खेती यहाँभन्दा विस्तार गर्दिनँ’, उनले भने, ‘फलफूल खेतीले मेरो उमेर १० वर्ष बढाएको छ जस्तो लाग्छ ।’

गाउँमा पानीको समस्या भएका कारण रेग्मीले ५०० मिटर तल खोलाबाट लिफ्टिङ गरेर माथी पानी तान्नुभएको छ । ‘जेनेरेटरबाट बिजुली निकाली पम्पबाट लिफ्टिङ गरेर पानी तानेर थोपा सिँचाइ गरेको छु,’ उनले भने, ‘लिफ्टिङ गरेर माथी तानेको पानी जम्मा गर्न एक लाख २५ हजार लिटरको ट्याङ्की निर्माण गरेको छु ।’ सबै ठाउँमा पानी पुग्ने गरी ब्लक निर्माण गरेर थोपा सिँचाइमार्फत फलफूलका बोटबिरुवा सिँचाइ गर्दै आएको उनको भनाइ छ ।

रेग्मीले फलफूल खेती सुरु गरेपछि सरकारी निकायबाट अनुदानसमेत पाउनुभएको छ । उनलाई सुन्तला जोनबाट लिफ्टिङका लागि रु चार लाख १५ हजार प्राप्त भएको बताए । त्यस्तै सुन्तला जोनबाटै लिफ्टिङ गरेको पानी जम्मा गर्नका लागि ट्याङ्की निर्माण गर्न रु दुई लाख अनुदान पाएको उनले बताए ।

कृषि ज्ञान केन्द्र तनहुँ (नवलपुरमा कृषि ज्ञान केन्द्र स्थापना भएको थिएन) बाट १३ रोपनीमा थोपा सिँचाइका लागि ५० प्रतिशत अनुदानमा रु दुई लाख ५० हजार पाएको बताए । जग्गा विस्तारपछि बाँकी जमिनमा सिँचाइ गर्न थोपा सिँचाइका लागि सुन्तला जोनबाट ८५ प्रतिशत अनुदान पाएको उनको भनाइ छ । फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान, औषधि छर्ने ट्याङ्की तथा औजारमा ५० प्रतिशत अनुदान पाएको रेग्मीले बताए ।

स्रोत : रासस
प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार ०७:४०

लोकप्रिय