सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

बंगालको खाडीमा विकसित आँधीको प्रभाव, ‘तीन प्रदेशमा वर्षा’

बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित मिचौंग नामक शक्तिशाली सामुद्रिक आँधीको समेत देशको पूर्वी भू-भागमा आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

साथै बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित मिचौंग नामक शक्तिशाली सामुद्रिक आँधीको समेत देशको पूर्वी भू-भागमा आंशिक प्रभाव रहेको छ ।

आज (मंगलबार) बिहानसम्म कोशी र लुम्बिनी प्रदेशका साथै देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातसँगै देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार ०६:५९

लोकप्रिय