सूचनाको शक्ति - The Power Of Information

        

विश्व एड्स दिवस: बाँकेमा घट्दै एचआइभी सङ्क्रमित

बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।

३६ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगन्जमा बिहीबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले पछिल्लो समयमा बाँकेमा एचआइभी सङ्क्रमितको घट्दै गएको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रवीन्द्र शाहका अनुसार आर्थिक वर्ष २०७८/२०७९ मा भन्दा आर्थिक वर्ष २०७९/२०८० मा बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या कम देखिएको हो ।

फोकल पर्सन शाहका अनुसार आर्थिक वर्ष २०७८/२०७९ बाँकेमा एक सय ५७ जना व्यक्तिमा एचआइभी सङ्क्रमण देखिएको थियो भने आर्थिक वर्ष २०७९/२०८० मा १०९ जनामा एचआइभी सङ्क्रमण देखिएको हो ।

आर्थिक वर्ष २०७८/२०७९ मा ११ हजार ७ सय ४५ जनामा एचआइभी जाँच गर्दा १५७ जना र आर्थिक वर्ष २०७९–२०८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जना व्यक्तिमा सङ्क्रमण देखिएको फोकल पर्सन शाहले जानकारी दिनुभयो ।

त्यसैगरी, गत आर्थिक वर्षमा जिल्लामा २१ हजार ४ सय १६ जना गर्भवती महिलामा एचआइभी जाँच गर्दा कसैमा पनि एचआइभी सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार एचआइभी जाँच र सङ्क्रमित देखिएका बाँके लगायत अन्य जिल्लाका भएपनि अधिकांश बाँकेका हुन् । सो सङ्ख्या बाँके जिल्लाभित्र जाँच गराएका बाँकेसहित विभिन्न जिल्लाका सङ्क्रमित भएको उहाँले बताउनुभयो ।

गत वर्षको तथ्याङ्क अनुसार नेपालगन्जस्थित भेरी अस्पतालबाट ५५६ जना सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् जसमध्ये ४१२ जना बाँकेका रहेको शाहले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले एचआइभी, एचआइभी सङ्क्रमण, उपचार पद्धति, रोकथाम तथा न्यूनीकरणका आदीका बारेमा प्रस्तुति राख्नुभएको थियो ।

पत्रकार अन्तरक्रिया कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी, एचआइभी सम्बन्धी काम विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत सरोकारवालको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १८:१३

लोकप्रिय