बाँकेको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रका रूपमा परिचित कोहलपुर नेपालगन्ज सडकखण्डमा दुर्घटना रोक्नका लागि त्यहाँ रहेका जेब्रा क्रसिङ्गको रङ्गरोगन सुरु गरिएको छ ।
सो सडक खण्डअन्तर्गत तथा कोहलपुर नगरपालिका भित्र पर्ने विभिन्न चोक र विद्यालय अस्पताल नजिकका ठाउँमा दुर्घटना रोक्न बनाइएका जेब्रा क्रसिङ्गहरुको पेन्टिङ्ग मेटिएकाले ती जेब्रा क्रसिङ्गलाई साईनिङ गर्ने काम सुरु गरिएको हो ।
जेसिज सप्ताहअन्तर्गत कोहलपुर जेसिज, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र कोहलपुर नगरपालिकाको नगर प्रहरीको संयुक्त प्रयासमा जेब्रा क्रसलाई नयाँ स्वरूप प्रदान गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताउनुभयो ।
उहाँले कोहलपुर नगरपालिका १० को त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत तीन हजार २०० बढी बालबालिकाको सुरक्षालाई ध्यानमा राखेर सबैभन्दा पहिले सो विद्यालय अगाडि र त्यहाँ नजिकका अन्य जेब्रा क्रसमा रङ्गरोगन गरिएको बताउनुभयो ।
विद्यालय नजिक गरिएको यो कार्यले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको कोहलपुर जेसिज २०२३ का अध्यक्ष ध्रुवराज आचार्यले बताउनुभयो ।
उहाँले जेब्रा क्रसमा रङ्गरोगन गर्ने अभियानलाई निरन्तरता दिँदै डाईनामिक कलेज नजिक, साझा चोक चप्परगौंरी तथा कोहलपुर बजारका अन्य व्यस्त सडकमा रहेका जेब्रा क्रसमा समेत रङ्गरोगन गरिने बताउनुभयो ।
दुर्घटना न्यूनीकरणका लागि सुरु गरिएको जेब्रा क्रसमा रङ्गरोगन अभियानको सुरुवातमा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवेदी, प्रहरी सहायक निरीक्षक मदन सिंह मातर, कोहलपुर नगरपालिकाको नगर प्रहरी प्रमुख वीर बहादुर थापा, कोहलपुर जेसिज २०२३ का अध्यक्ष ध्रुर्वराज आचार्य, जेसिजका अन्य पदाधिकारी, कोहलपुर नगरपालिका वडा नं. १० का वडा सदस्य श्यामलाल थारु र प्रहरी बिट एक नम्बर हाईस्कुलका प्रहरीहरूको उपस्थिति रहेको थियो ।
जेसिज सप्ताहकै अवसरमा कोहलपुर जेसिजले अन्य विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरू पनि गर्ने कोहलपुर जेसिजका अध्यक्ष आचार्यले जनाउनुभयो । उहाँले जेसिजले हरेक वर्ष मनाउँदै आएको जेसिज सप्ताह र अन्य विभिन्न समयमा गर्दै आएको अभियान र कार्यक्रमबाट समाजमा सचेतना फैलाउने काम गर्दै आएको बताउनुभयो ।
पछिल्लो समयमा आएर नेपालगन्ज–कोहलपुर सडकखण्डको रत्नराजमार्ग र कोहलपुर बजार लगायत चौराहादेखि पूर्व र पश्चिमको राजमार्गमा दुर्घटनाहरू अत्यधिक बढेका छन् । ती दुर्घटना रोक्न जिल्लाका सबै सरोकारवालाहरूले एक भएर विभिन्न कार्य सुरु गरिसकेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके