सूचनाको शक्ति - The Power Of Information

        

विपिनकाे रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानु हुने भएको छ ।

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहलका लागि उहाँ यही मङ्सिर २३ गते कतार जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिनुभएको थियो । त्यसअघि मङ्सिर ७ गते मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री साउदले आज बुधवार गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गर्नु भएको छ । कतार बसाइँका क्रममा मन्त्री साउद दोहा २१ औँ फोरममा पनि सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ ।

डिसेम्बर १० देखि शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १६:५४

लोकप्रिय