जलीय जैविक विविधता संरक्षणका लागि बाँकेस्थित राप्ती नदीमा २० हजार माछाका भुरा छोडिएको छ ।
विश्व मत्स्य दिवसको अवसरमा मत्स्य विकास केन्द्र राप्तीसोनारी–८ ओभरीले राप्तीसोनारी गाउँपालिका–२ स्थित राप्ती नदीमा रोहु र नैनी जातका २० हजार माछाका भुरा छोडेको हो ।
मत्स्य विकास केन्द्र राप्तीसोनारी ओभरीका निमित्त प्रमुख महेन्द्र प्रसाद यादवले जलीय जैविक विविधता संरक्षण अहिलेको सबैभन्दा ठुलो आवश्यकता भएकोले माछाका भुराहरू नदीमा छोडिएको बताउनुभयो । उहाँले जलीय जैविक विविधता संरक्षणका लागि हरेक वर्ष दुई तीन पटकसम्म राप्ती नदीमा विभिन्न प्रजातिका माछाका भुरा छोड्ने गरिएको बताउनुभयो ।
माछा मारेर छाक टर्ने समुदायको रोजगारी सुनिश्चितता नहुँदा प्राकृतिक जलाशयमा भएका माछा सकिँदै जान थालेकाले माछाको संरक्षण गर्नु आवश्यक भएको मत्स्य विकास केन्द्र ओभरीका निमित्त प्रमुख यादवको भनाइ छ । सो अवसरमा माछाका महत्त्वपूर्ण प्रजातिको क्रमशः वंश नास भइरहेकोमा चिन्ता व्यक्त गर्दै जलीय सम्पदाको संरक्षण गर्न विभिन्न कार्यक्रम गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले करेन्ट र विष प्रयोग गरेर माछा मार्नेको सङ्ख्या बढिरहेको हुँदा यस्ता कार्यहरू रोक्नु आवश्यक रहेको जनाउँदै जैविक विविधता संरक्षणमा सबैको चासो र चिन्ता हुनुपर्ने बताउनुभयो । उहाँले वडा कार्यालयले सो बारेमा सचेतना फैलाउने कार्यक्रमहरू गर्ने योजना तयार गरेर काम गरिरहेको पनि बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेकी प्रमुख कमला अधिकारीले जलचरहरूको संरक्षणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकारले सिफारिस गरेका ८ प्रकारका माछा पालनमा विशेष ध्यान दिन सम्बन्धित सबैसँग आग्रह गर्नुभयो ।
१० वर्षदेखि माछापालन गर्दै आउनुभएका बाँके कोहलपुरका किसान दीपेन्द्र चौधरीले माछा सेवनले स्वास्थ्य राम्रो हुने सचेतना बढ्दै जाँदा माछाको माग अत्यधिक बढेको जनाउँदै राम्रो आम्दानी हुने भएकोले माछा पालन गर्न सबैलाई सुझाव दिनुभयो । उहाँले किसानलाई माछाका भुरा सहजरूपमा उपलब्ध हुने व्यवस्था गर्न भुरा उत्पादन गर्नेहरूसँग अनुरोध गर्नुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके