सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन हुने

नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी फागुनको अन्तिम साता राष्ट्रियस्तरको ब्याडमिन्टन  प्रतियोगिता हुने भएको हो ।

ब्याडमिन्टन खेलको स्तर उन्नति तथा खेलाडीको विकास गर्ने उद्देश्यका साथ नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता गर्न थालिएको बाँके जिल्ला ब्याडमिन्टन सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष सञ्जय थापाले प्रतियोगितामा देशभरबाट विभागीय सहित उत्कृष्ट खेलाडीहरू सहभागी हुने जानकारी दिनुभयो । उहाँले मेन्स डबल्स (खुल्ला), मेन्स डबल्स (बि लेभल) र भेट्रान्स (४५ प्लस) गरी ३ इभेन्टमा प्रतियोगिता हुने बताउनुभयो ।

अध्यक्ष थापाका अनुसार प्रतियोगितामा मेन्स डबल्स (खुल्ला) को उपाधि विजेतालाई एक लाख रुपियाँ पुरस्कार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ भने दोस्रो टिमले नगद ७० हजार तथा तृतीय टिमले ३० हजार रुपियाँ, मेडल, प्रमाणपत्र पाउने छन् ।

यसै गरी मेन्स डबल्स बि लेभलको पहिलो, दोस्रो र तेस्रो टिमहरूले क्रमशः ४० हजार, ३० हजार र १० हजार रुपियाँ तथा भेट्रान्सतर्फ  पहिलो, दोस्रो र तेस्रो टिमले क्रमशः ५० हजार, ३० हजार र १० हजार रुपियाँ पुरस्कारसँगै कप, प्रमाणपत्र र मेडल प्रदान गरिने बाँके जिल्ला ब्याडमिन्टन सङ्घले जनाएको छ ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगिता नेपालगन्ज रङ्गशालाको कर्भड हलमा आयोजना गरिने छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ११:४७

लोकप्रिय