सूचनाको शक्ति - The Power Of Information

        

नक्कली भुटानी शरणार्थी प्रकरण: आजदेखि सरकारी वकिलको बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरवलोकन निवेदनमाथिको सुनुवाइमा आजबाट सरकारी वकिलले बहस गर्ने भएका छन् । उच्च अदालत पाटनमा गत सातादेखि बहस जारी छ ।

मंगलबारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ । उनीहरूको बहस सकिएसँगै आजदेखि सरकारी वकिलले बहस गर्ने छन् ।

बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबार अभियुक्तका वकिलले जवाफी बहस गर्ने छन् । उच्च अदालत पाटनका श्रेस्तेदार ठगिन्द्र कट्टेलका अनुसार शुक्रबार फैसला आउने सम्भावना छ ।

सोमबारदेखि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका वकिलहरूले प्रतिरक्षा बहस गरेका थिए । उनीहरूको बहस मंगलबारको खाजा ब्रेकअघि सकिएको थियो ।

खाजा ब्रेकपछि अभिभयुक्तहरू रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस भएको थियो । यससँगै प्रतिवादीहरूका वकिलहरूको बहस टुंगिएको हो ।

आजदेखि सरकारी वकिलका तर्फबाट बहस हुनेछ । सरकारी वकिलको बहस सकिएपछि निवेदक (प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्ने छन् । त्यसपछि पुनरावेदन निवेदनमा उच्च अदालतको फैसला आउनेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी वकिलसमेत संलग्न भएको भन्दै मुद्दा चलेपछि गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुईजनाबाहेक सबै अभियुक्तालई पुर्पक्षका लागि धुनामा पठाउन आदेश गरेको थियो । थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ०९:१६

लोकप्रिय