राज्यले विभिन्न व्यक्तिहरुलाई सुरक्षाकर्मी खटाएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जगत गुरु’ यतीराज उपाध्यायलाई एक प्रहरी हवल्दार उपलब्ध गराएका छन् भने, ‘सदगुरुदेव अर्चना बाबा’लाई एक प्रहरी जवान उपलब्ध गराएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई गृहमन्त्रालयले उपलब्ध गराएको विवरणमा सुरक्षाकर्मी उपलब्ध गराएको तथ्यांक सामेल छ ।
पूर्वमन्त्रीहरुले बढीभन्दा बढी सुरक्षाकर्मी लिने र घरायसी काममासमेत लगाएको पाइएको छ । सुरक्षाकर्मी दुरुपयोग भएको गुनासो आएपछि समितिले विवरण माग गरेको हो । सशस्त्र प्रहरी र नेपाली सेनाबाट खटेका सुरक्षाकर्मीको भने विवरण समितिले अझै पाउन सकेको छैन । नेपाल प्रहरीले करिब पौने १३ सय सुरक्षाकर्मी व्यक्तिगत सुरक्षामा खटिएको विवरण उपलब्ध गराएको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षसहितका अतिविशिष्ट र विशिष्टहरु तथा पदाधिकारीका निम्ति पौने १३ सय नेपाल प्रहरीका कर्मचारी सुरक्षाकर्मी खटेका छन् । एक डिएसपी, ७ इन्स्पेक्टर, ९८ वरिष्ठ सइ, ६४ सइ, १८१ असइ, ११६ वरिष्ठ हवल्दार, ३१८ हवल्दार, २२५ सहायक हवल्दार, २४४ जवान, पाँच प्रहरी कार्यालय सहयोगी पनि भीआइपीलाई दिएको विवरण नेपाल प्रहरीले गृहमार्फत् राज्य व्यवस्था समितिमा पठाएको छ ।
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार राष्ट्रपतिले १८ जना प्रहरी सुरक्षाकर्मीका रुपमा लिन पाउँछन् । राष्ट्रपति रामचन्द्र पौडेलको सुरक्षामा इन्स्पेक्टरसहित ११ जना खटिएका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कार्यविधिले दिएको पुरै सुरक्षाकर्मी लिएका छन् । उनले इन्स्पेक्टरकै नेतृत्वमा पाँच जना सुरक्षाकर्मी लिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा डीएसपीको नेतृत्वमा तीन इन्स्पेक्टरसहित ६२ जना खटिएका छन् । बालुवाटारमा प्रधानमन्त्री विशेष सुरक्षा इकाइमार्फत उनीहरुको परिचालन हुने गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुरक्षामा वरिष्ठ सइको नेतृत्वमा १० प्रहरी खटिएका छन् ।
प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षले दुई–दुई जना सुरक्षाकर्मी लिएका छन् । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबाहेक सबै संघीय मन्त्री–राज्यमन्त्रीहरू, उपसभामुख, उपाध्यक्षको सुरक्षामा दुई–दुई जना प्रहरी खटिएका छन् । रक्षामन्त्रीको सुरक्षा भने नेपाली सेनाले नै दिँदै आएको छ ।
त्यसबाहेक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमाले प्रमुख सचेतक पदम गिरीलाई पनि दुई–दुई प्रहरी सुरक्षाका लागि खटाइएको छ । प्रधानन्यायाधीशसहित सर्वाेच्च अदालतका सबै न्यायाधीश, संवैधानिक आयोगका प्रमुख आयुक्त र आयुक्तले दुई–दुई, अध्यक्ष र सदस्यले दुई पाउनेमा कसैले दुई त कसैले एक प्रहरी लिएका छन् ।
पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले इन्स्पेक्टरसहित १५ प्रहरी लिएका छन् । गृहले उनलाई सुरक्षाकर्मीसहित अगुवा सवारीका लागि गाडीसमेत उपलब्ध गराएको छ । प्रथम राष्ट्रपति डा.रामवरण यादवले असइसहित दुई सुरक्षाकर्मी लिएका छन् ।
पूर्व राष्ट्रपति विद्या भण्डारीले वरिष्ठ सइसहित दुई सुरक्षाकर्मी लिएकी छिन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा सहायक हवल्दार र जवान गरी दुई प्रहरी छन् । प्रथम उपराष्ट्रपति परमानन्द झाले दुई वरिष्ठ सई लिएका छन् भने निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले सइसहित दुई प्रहरी लिएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं