सूचनाको शक्ति - The Power Of Information

        

मादल हराउने चिन्ता, नयाँ पुस्तालाई छैन मतलब

दाङको घोराही उपमहानगरपालिका–१७ पचुर्खाका मादल व्यवसायी चित्रबहादुर वादी ६९ वर्षको भए । रोल्पा कोटमा जन्मिएका आफ्ना बुबाले मादल बनाएको देखेर आफूले पनि सिकेको उनले बताए । मादल, खैजडी, दमाहा र ढोलक पनि बनाउन सीपालु चित्रबहादुरले आठ छोराछोरीलाई मादल बिक्री गरेर प्राप्त अन्न र पैसाले लालनपालन गर्दैआएको जानकारी दिए ।

‘अरु पेसा केही थिएन बालिघरे प्रथामा मादल बनाउने गर्थेँ, मादल बनाएर आएको अन्न (धान), पैसाले बाह्रैमहिना खान पुग्थ्यो,’ उनले भने, अझै पनि बालिघरे प्रथा छ । मादलमर्मत गरेबापत वर्षमा पाँच–छ पाथी धान दिने सर्तमा काम गर्दै आएको छु । पछिल्लो पुस्ताले मादलको महत्व नबुझ्दा बिक्री हुन पनि हुन छोडेको छ ।

मादलको आकारअनुसार सानोलाई रु दुई हजार र ठूलोलाई रु पाँच हजारसम्ममा बिक्री हुन्छ तर पछिल्लो पुस्ताले मादललाई महत्व नदिँदा बिक्री हुन छाडेको छ । यस वर्षको दसैँ, तिहारमा एकवटा पनि नयाँ मादल बिक्री नभएको चित्रबहादुरले बताए । चार भाइ छोरामध्ये कान्छो छोराले मात्रै मादल बनाउने गरेको छ, तर यसैमा मात्र सन्तुष्ट हुन नसकेर उसले रोलर पनि चलाउने गरेको छ ।

आफू पछिको पुस्ताले यो पेसाबाट आम्दानी नहुने र मेहनत धेरै गर्नुपर्ने भएकाले काम गर्न मन नगर्ने उनको भनाइ थियो । छोरा र नातिले यो पेसालाई सम्हाल्न नसक्दा आफूपछि यो पूर्खौली पेसा सङ्कटमा रहेको चित्रबहादुरको गुनासो थियो । बजारभन्दा गाउँमा मादल केही बिक्री हुन्छ, थारु समुदायको माघी र नेपालीको दसैँ र तिहारमा मादल बढी बिक्री हुन्छ ।

‘पछिल्लो समय गाउँघरमा पनि दसैँ, तिहारको बेला स्पिकर र डेक बजाउन थाले,’ उनले भने, ‘मनोरञ्जनको साधनको रूपमा पहिले मादल मात्र थियो ।’ अहिलेका पुस्ता मादल बजाउन नजान्ने भएकाले यस्ता बाजाको संरक्षण हुन नसकेको हो । घरको कोठा मादलले भरिएका छन् । खरको खरानी, भातको माड, आरनबाट निस्केको फलामको धुलो मिसाएर खरी बनाएर मादलमा लगाउने गरेको भूमी वादीले बताए ।

बाह्रैमहिना मादल मर्मत गरिन्छ, नयाँ मादल बिक्री कम हुँदै गएको छ, पुरानो मादल मर्मत गरेर मात्र गुजारा चलेको उनको भनाइ थियो । ‘श्रीमान् चित्रबहादुरलाई मादल बनाउन भूमीले सघाउँदै आएकी छन् । नयाँ मादल बनाउन पनि आउँछ, पुरानो मर्मत गर्न पनि आउँछ,’ उनले भने । मादल बनाउन प्रयोग हुने सामग्री दाङको पहाडी क्षेत्र बङ्गलाचुलीको चुरे पहाडबाट ल्याउने गरेको भूमीले उल्लेख गरे ।

मादल बनाउन खमारीको काठ, बाख्राको छाला र मादल बान्नका लागि लहरा चाहिन्छ यो कच्चापदार्थ पनि महँङो हुँदै गएको छ । पछिल्लो समय आम्दानीभन्दा पनि हाम्रो मौलिक अस्तित्व जोगाउन मात्र मादल बनाउने गरेको उनले बताए । नयाँ किन्नेभन्दा पुरानो मादल मर्मत गर्नेको सङ्ख्या धेरै छ । एउटा मादल मर्मत गरेको रु एक हजारसम्म पर्छ ।

नयाँ पुस्ता आधुनिकतासँगै बाहिरी संस्कार, संस्कृतिप्रति आकर्षित हुँदा मौलिकता बचाउन गाह्रो भएको संस्कृतिविद गोविन्द आचार्यको भनाइ थियो । हिन्दी र अङ्ग्रेजी गीतमा युवा पुस्ता आकर्षक हुँदा लोक वाजा ओझेलमा परेको उनको भनाइ थियो । युवापुस्ताले विद्युतीय साउण्ड सिस्टम बजाउने गरेकाले गाउने र बजाउने कला पनि कम हुँदै गएको छ । संस्कृति संरक्षणका लागि सरकारले कार्यविधि बनाएर काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १४:४७

लोकप्रिय