सूचनाको शक्ति - The Power Of Information

        

उजुरी दिन कर्णालीका घर-घरमा क्युआर कोड

कर्णालीका सबै घरमा पुगेर घर-घरमा स्टिकर टाँस गरेको कर्णाली प्रहरीले आजदेखि फेरि उजुरी दिन क्युआर कोड सञ्चालनमा ल्याएको छ । यसबाट यहाँका नागरिकलाई उजुरी दिन प्रहरी कार्यालयमै आउनु नपर्ने भएको छ ।

क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिन सक्ने प्रणालिको विकास गरेपछि सर्वसाधारणको समय बचत भएको छ । अब कर्णालीवासीले घरबाटै क्युआर कोर्डमार्फत प्रहरीमा उजुरी दिनसक्ने व्यवस्था भएपछि राहतको महसुस भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले उक्त क्युआर कोर्डको उद्घाटन गरेर सेवा आरम्भ गरेका हुन् । क्युआर कोर्ड सञ्चालनमा आएसँगै अब कर्णालीवासीले प्रहरीमा उजुरी दिनुपरे घरबाटै दिनसक्ने भएका छन् ।

सुरक्षित कर्णाली निर्माण गर्न सात वटा अभियान सञ्चालन गरिएको छ भन्दै प्रहरी नायव महानिरीक्षक ढकालले नागरिकले सुरक्षित र सहज रुपमा सुरक्षा सेवा पाउन भन्ने उद्देश्यले क्युआर सिस्टम सञ्चालनमा ल्याइएको बताए ।

‘सुरक्षाप्रति विश्वास बढाउन, नागरिकसँग नजिक हुन र नागरिकलाई सहज सेवा प्रदान गर्न हामीले यो अभियान सञ्चालनमा ल्याएका हौँ,’ प्रहरी प्रमुख ढकालले भने, ‘नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस् भनेर यो सेवा सञ्चालनमा ल्याइएको हो । क्युआर कोडमार्फत आएका गुनासालाई तीन प्रकारमा वर्गीकरण गरिएको छ ।’

प्रहरी नायव महानिरीक्षक ढकालले अनुसार अति जरुरी प्रकारको उजुरी आए तत्कालै छानविन अघि बढाइने, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीबारे छानबिन गरी उजुरीकर्तालाई जानकारी दिइनेछ । प्रहरी प्रमुख ढकालले उजुरीकर्ताको गोपनीयता कायम राखेर कानुनी प्रक्रिया अघि बढाइने बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १६:३७

लोकप्रिय