सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

अभिभावकबिहीन कथित गणतन्त्र र तानाशाही लोकतन्त्र

अनि बल्ल देशमा शासक हैन सेवक जन्मन्छन्, तसर्थ भ्रष्ट र दलाल नेताको झोला बोक्नुभन्दा देशको झण्डा बोक्नु हजारौं गुणा सार्थक लाग्छ ।

खै कहाँ छ लोकतन्त्र वा गणतन्त्र ?
लेख्नेहरुका कलम भचिँदैछन्
बोल्नेहरुका मुख टाँसिदैछन्
न्यायलयमा न्याय विकेको छ
छिमेकीले सिमाना मिचेको छ
रोजगार, शिक्षा, स्वास्थ्यका मुद्दा सबै अलपत्र छन्
सुशासन र विकास योजना भाषण मात्र यत्रतत्र छन्
भ्रष्टाचारले जरा गाडेको छ
चरम गरिबीले जनता मारेको छ
दक्ष जनशक्तिले देश छोडेका छन्
भ्रस्ट नेता र झोले कार्यकर्ताले भुँडी भरेका छन्
खै कहाँ छ लोकतन्त्र ?

म प्रष्ट भन्न चाहन्छु गणतन्त्र भन्दा राजतन्त्र उत्तम व्यवस्था होइन, तर जुन राजतन्त्रका एक राजा ओखेलेर गणतन्त्रका हजारौं दलाल र भ्रष्ट राजाहरू रोपिए त्यसले गणतन्त्रलाई तुहियाएको हो या विफल बनाएको । गणतान्त्रिक व्यवस्था एउटा सुन्दर फूलबारी हो, जहाँ जनताका छोरा राष्ट्र प्रमुख या कार्यकारी प्रमुख बन्ने व्यवस्था छ, जुन राजतन्त्रमा सम्भव हुँदैन । तर जुन फूलबारीको मलजल र रक्षा गर्न खटाइएका मालीहरुले नै सोही फूलबारीका फूलहरू नष्ट गर्नतर्फ अग्रसर हुन्छन् भने त्यस फूलबारीले अभिभावकको कमी महसुस गर्दछ, जुन आज राष्ट्रले गरिरहेको छ । हो राष्ट्रलाई असल अभिभावकको खाँचो छ ।

लोकतन्त्र तीन मूल तत्व मिलेर बनेको हुन्छ,जीवनको सुरक्षा,धनको सुरक्षा अनि स्वतन्त्रता को रक्षा,यदि यी तीन मूल तत्व छैनन् भने जस्तो सुकै शासन व्यवस्था भएपनि लोकतान्त्रिक वा गणतान्त्रीक हुँदैन।संयुक्त राज्य अमेरिका, चीन, भारत, पाकिस्तान, अफगनिस्तान आदि देशहरू गणतान्त्रिक हुन तर हरेक देशमा त्यसको लोकतान्त्रिक अभ्यास एउटै छैन । त्यस्तै ब्रिटेन, जापान, स्पेन आदि देशहरूमा राजतन्त्र भएपनि लोकतन्त्र बलियो छ, त्यसैले राजतन्त्र हुँदैमा देश अलोकतान्त्रिक हुन्छ या समृद्धिमा पूर्णविराम लाग्छ भन्ने सोच्नु गलत हो ।

व्यवस्था आफैमा लोकतान्त्रिक या तानाशाही हुँदैन, तर शासकले त्यस व्यवस्थालाई कुन रुपमा अभ्यास गराउँछन् त्यसमा भर पर्दछ । म तपाईंलाई तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीले भनेको एउटा कुरा स्मरण गराउन चाहन्छु उनले भनेका थिए, ‘एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद, दलाल पूँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन ।’ हो गणतन्त्रले हाम्रा स्थितिमा कुनै परिवर्तन ल्यायो त ? भनिन्छ संसारमा तीन श्रेणीका व्यक्ति छन् ।

पहिलो श्रेणीका ती मानिस हुन् जसलाई थाहा छैन र उसलाई यो पनि थाहा छैन कि उसलाई थाहा छैन । यी सामान्य मजदुर वर्ग हुन् जसलाई राजनीतिक विषयवस्तुसँग कुनै लेनदेन हुँदैन, जुन जीविकोपार्जनका विकल्पमा भौतारिरहन्छन् । दोस्रो श्रेणीका मानिसहरू जसलाई थाहा छैन, तर उसलाई थाहा छ कि मलाई यो थाहा छैन । हो यो वर्गका मानिसहरू झोले कार्यकर्ता हुन् जसलाई विषयवस्तु सिद्धान्तका बारेमा जानकारी नभए पनि आफ्ना नेता र दलप्रति वफादार रहिरहन्छन् ।

तेस्रो श्रेणीका मानिसहरु जसलाई थाहा छ र उसलाई यो पनि थाहा छ कि उसलाई कति थाहा छ र कति थाह छैन, हो यो श्रेणीका मानिस समाजका बुद्धिजिवी वर्गका हुन् । जसलाई राजनीतिक र सामाजिक विषयवस्तुप्रति जानकार हुन्छन् र समाजलाई मार्गदर्शन गर्ने हैसियत राख्छन् । जबसम्म समाजमा यो वर्गका मानिसहरु हावी भई नेतृत्व गर्न अग्रसर हुँदैनन्, तबसम्म कुनै पनि व्यवस्थाले सही अभिभाबको परिकल्पना गर्न सक्दैन । दक्षिण एसियाकै धनी मुलुक बनाउन आएकाहरुले, दक्षिण एसियाको मात्र नभै विश्वकै गरीब देशको सूचीमा लगभग शीर्ष स्थानमा पुराउन लागिसके ।

देशमा चरम भ्रष्टाचार छ, शोषण, अराजकता, चरम निराशापन र गरीब छ । खै कहाँ छ लोकतन्त्र ? के अझै पनि अन्धभक्त भई झोला बोकेर हिँड्ने हो ? राष्ट्र निर्माता र रक्षक निरङ्कुश र प्रतिगमनकारी र राष्ट्र दोहनकर्ता लोकतान्त्रिक र अग्रगमनकारी के यो सरासर झुटको खेती भएन र ? के यही हो तपाईंको राष्ट्रवाद ? हेर्नुहोस् विचलित सेनाको सेनापति हुनुभन्दा उत्साहित सेनाको सिपाही हुनु बेस, अतः शोषकको आज्ञाकारी कार्यकर्ताभन्दा आफ्ना विचार र सिद्धान्तको नोकर बन्न सक्नुपर्दछ । अनि बल्ल देशमा शासक हैन सेवक जन्मन्छन्, तसर्थ भ्रष्ट र दलाल नेताको झोला बोक्नुभन्दा देशको झण्डा बोक्नु हजारौं गुणा सार्थक लाग्छ मलाई ।

झोलाभन्दा माथि झण्डा छ
अनि दलभन्दा माथि देश ।

जय देश ।।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १४:५२

लोकप्रिय