२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

बाँकेको राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य सेवा

सत्यपाटीसत्यपाटी । बाँके । २०८० मंसिर १० गते आइतबार

बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय १५ जना स्थानीयले सेवा लिएका छन् ।

राप्तीसोनारी गाउँपालिकाले बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गण ओभरी र एचसीआरसी अस्पतालसँगको समन्वय र सहकार्यमा आयोजना गरेको स्वास्थ्य शिविरमा ६ सय १५ जना स्थानीयले एक हजार एक सय १२ प्रकारका सेवा लिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयवासीलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यका साथ शिविर आयोजना गरिएको हो । स्त्री तथा प्रसूति सेवा ११२ जनाले, अर्थोपेडिक सेवा २४८ जनाले, मेडिसिन सेवा २५० जनाले, छाला रोग उपचारसम्बन्धी सेवा ६२ जनाले, इएनटी सेवा २६१ जनाले र मुटु रोगसम्बन्धी सेवा ८० जनाले लिएको केसीले बताउनुभयो । जसमध्ये ३२ जनाले ल्याब सेवा र ४५ जना स्थानीयले इसीजी सेवा समेत लिनुभएको थियो ।

अर्जुनबाण गणका अर्थोपेडिक सर्जन डा. अमृतरत्न शाक्य, नेपाली सेनाकै फिजिसियन डा. सुरेश कायस्थ, भेरी अस्पतालका कार्डियोलोजिष्ट डा. विकास नेपाल, डर्माटोलोजिष्ट डा. कमलजङ्ग शाही, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. मञ्जु बिसी शाह, इएनटी सर्जन डा. कविर बाँस्तोलासहित पालिकाका १५ जना स्वास्थ्यकर्मीले बिरामीलाई सेवा प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार