सूचनाको शक्ति - The Power Of Information

        

ठगी गरेको आरोपमा शिवशिखर सहकारीविरुद्ध प्रहरीमा उजुरी

केमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको जनाउँदै तीन हजार ३०० जनाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीका अनुसार हालसम्म शिवशिखरविरुद्ध ठगीको उजुरी गरेकाहरूले ४८ करोड ७८ लाख ६४ हजार बिगो दाबी गरेका छन् ।

डिएसपी डाँगीले ५ हजारदेखि ७३ लाख रुपियाँसम्म ठगिएको भन्दै उजुरी प्राप्त भएको बताउनुभयो । उहाँले थप्नु भयो, “केन्द्रीय अध्यक्षसहित नौ जनाविरुद्ध उजुरी परेको छ ।

हामीले यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ ।” उहाँका अनुसार पहिलो चरणमा उजुरी आह्वान गरिएकोमा उजुरी प्राप्त भएको छ भने अब थप अनुसन्धान भइरहेको छ ।

बाँकेमा नेपालगन्जको न्युरोड र कोहलपुर लगायतका ठाउँमा शाखा खोलेर शिवशिखरले कारोबार गर्दैआएको छ । बचत फिर्ता गर्न नसकेपछि उक्त सहकारीमा तालाबन्दी गरिएको छ ।

ठुलो आर्थिक अपचलन भएपछि अहिले सो सहकारी टाट पल्टेको बताइएको छ । बचतकर्ताको लाखौँ करोडौँ रुपियाँ गुम्ने भन्दै बचतकर्ता आन्दोलनमा उत्रेका छन् ।

आर्थिक अनियमिततासँगै कारोबार डामाडोल भएपछि यतिबेला नेपालगन्जको न्युरोडमा सहकारीमार्फत सञ्चालित शिवशिखर मार्ट र कार्यालयमा ताला लगाइएको छ ।

सुनौलो भविष्यका लागि आफूहरूले खाइनखाई कमाएर जम्मा गरेको पैसा सहकारीले फिर्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बचतकर्ताको भनाइ छ ।

कोहलपुर–१ का विक्रम खड्काले वर्षौँ लगाएर जम्मा गरेको रकम आवश्यक परेका बेला झिक्न नसकेको बताउनुभयो । शिवशिखर सहकारी संस्थाका केन्द्रीय कार्यालय भक्तपुरमा छ ।

यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको सहकारीका देशभर ३३ भन्दा बढी शाखा छन् ।

उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ चलाएको छ । शिवशिखर सहकारीमा सामान्य आम्दानी भएका, साना व्यवसायी, अटोरिक्सा चालकलगायत मध्यमस्तरका व्यवसायीले बचत गर्दैआएका थिए ।

पैसा नपाउँदा उनीहरू निराश छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतवार १७:४६

लोकप्रिय