सूचनाको शक्ति - The Power Of Information

        

असईले पेस्तोल पड्काएर खुसियाली मनाउँदा…

महोत्तरीमा प्रहरी चौकी इन्चार्जको पेस्तोल पड्केर गोली लाग्दा एक प्रहरी जवान घाइते भएका छन् । एकडारा गाउँपालिका-४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामईश्वर प्रसाद यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

डाँकालाई पक्रेर ल्याएको खुसीयालीमा असई यादवले पेस्तोल पड्काएका थिए । गत कात्तिक २० गते राति साढे दुई बजे जलेश्वर नगरपालिका-८ स्थित रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा डकैती तथा अन्य अपराधिक घटनामा संलग्न रहेका आरोपीलाई गत कात्तिक २८ गते रौतहटको गरूडाबाट असई यादव नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

विभिन्न आपराधिक घटनामा संलग्न भई फरार भएका डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका-२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई प्रहरीले नियन्त्रण्मा लिन सफल भएको थियो । त्यसैको खुशीयालीमा प्रहरी चौकीमा खानपिन गरी कात्तिक ३० गते राति असई यादव लगायतका प्रहरीले रमाइलो गरेका थिए । असई यादवले पेस्तोल हातमा लिएर रमाइलो गर्दागर्दौ अचानक गोली पड्केको थियो ।

घटना ढाकछोप गर्न असई यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारतीय अस्पताल पुर्याएका थिए । त्यहाँ डाक्टरले गोली लागेको देखेपछि भारतीय प्रहरीलाई खबर गरेका थिए । प्रहरी जवान साह सप्तरीका बासिन्दा हुन् । भारतीय प्रहरीले सप्तरी प्रहरीलाई फोन गरेर जानकारी गराएपछि घटना बाहिरिएको हो । महोत्तरी प्रहरीले घटनाबारे हिजो शुक्रबार दिउँसोमात्रै थाहा पाएको थियो । दुवैले घटना बाहिर नल्याउने आपसी सहमति गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतवार ०६:५९

लोकप्रिय