सूचनाको शक्ति - The Power Of Information

        

लैङ्गिक हिंसामध्ये ८० प्रतिशत घरेलु

लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ ।

आजबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८९ प्रतिशत चिनजानका मानिसबाटै महिला तथा बालिालिका हिंसामा पर्ने गरेका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले चिनाजानबाटै हिंसामा पर्नु दुःखद् कुरा भएकाले यसलाई रोक्न समुदायको सक्रिय सहभागिताको खाँचो रहेको औँल्याए ।

विवरणानुसार घरेलु हिंसाभित्र श्रीमान्–श्रीमतीबीच हुने घरेलु हिंसाका घटनामात्रै ६७ प्रतिशत छ । पछिल्लो एक वर्षमा प्रहरीमा १६ हजार ५१९ घरेलु हिंसा र अन्य लैङ्गिक हिंसा चार हजार ३९४ वटा दर्ता भएका छन् ।

उमेर समूहका हिसाबले पीडित भएकामध्ये ६३ प्रतिशत बालिका (११ देखि १६ वर्ष)का छन् । पीडक भने १० वर्षदेखि २५ वर्षका मात्रै झण्डै ३८ प्रतिशत छन् । डर, धाक, धक्की देखाएर ५० प्रतिशत हिंसा भएको र चकलेट खुवाएर ३५ प्रतिशत तथा विवाह गर्ने लोभ देखाएर १४ प्रतिशत हिंसाका घटना भएका छन् ।

निर्देशनालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले ८९ प्रतिशत चिनजानका मानिसबारै हिंसा भएको तथ्यले देखाएको बताए । त्यसमा पनि १२ प्रतिशत आफ्नै परिवारका, झण्डै २३ प्रतिशत छिमेकी, शून्य दशमलव ४६ प्रतिशत शिक्षकले हिंसा गरेको घटना दर्ता भएको छ । केटा साथीबाट पाँच प्रतिशत हिंसाका घटना भएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतवार ०५:५६

लोकप्रिय