२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

नेपालगन्जमा रातो नम्बर प्लेटका इ-रिक्सा गुड्न प्रतिबन्ध

सत्यपाटीसत्यपाटी । बाँके । २०८० मंसिर १० गते आइतबार

बाँकेको नेपालगन्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ–रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ । उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ ।

नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो । उक्त अवधि मङ्सिर १५ गते समाप्त हुने भए पनि थप सात दिन समय दिएर मङ्सिर २३ गतेदेखि रातो नम्बर प्लेट भएका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए ।

‘समय त मङ्सिर १५ सम्ममात्रै दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौँ, मङ्सिर २३ देखि भने चल्न दिँदैनौँ,’ नगरप्रमुख विष्टले भने । अटेर गरी रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोके त्यस्ता इ–रिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी व्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा ‘होल्डिङ’ गरी राखिनेछ ।

कालो प्लेट नबनाउँदासम्म ती इ–रिक्सा होल्डिङ सेन्टरमै रहने नेपालगन्ज उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादर थापाले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकबाट त्रिवेणी मोडसम्म चारपाङ्ग्रे सवारीसाधन जान नदिने निर्णय गरिएको छ । यसैगरी गणेशमान चोकबाट चारबाहिनी चोकतर्फको सडकलाई पनि वान–वे बनाउने निर्णय गरिएको छ ।

बैठकमा नगरप्रमुख बिष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी, यातायात व्यवस्था कार्यालय प्रमुख माधव ज्ञवाली, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदी, वडा प्रहरी प्रमुख हरिबहादुर बिसी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत सरोकारवालाको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार