सूचनाको शक्ति - The Power Of Information

        

दुई वर्षपछि घरेलु क्रिकेटमा फर्किए सन्दीप लामिछाने

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने घरेलु क्रिकेट प्रतियोगितामा फर्किएका छन् ।

उनी दुई वर्षपछि केपी ओली कप टी–२० प्रतियोगितामार्फत घरेलु क्रिकेटमा फर्किएका हुन् । सन्दीपले पछिल्लोपटक सन् २०२१ मा एभरेष्ट प्रिमियर लिग (इपीएल) खेलेका थिए । जहाँ उनले काठमाडौं किंग्स–११ को कप्तानी गरेका थिए ।

त्यसपछि सन्दीप विभिन्न विदेशी लिगमा व्यस्त हुँदा घरेलु प्रतियोगितामा देखिएका थिएनन् । तर, यसपटक भने उनले बागमती प्रदेशको टिम कप्तान बन्दै घरेलु क्रिकेटमा कमब्याक गरेका छन् । सन्दीप घरेलु क्रिकेटमा उत्कृष्ट कमब्याक गर्ने योजनामा छन् ।

उनले यसअघि काठमाडौं किंग्सका साथै एपीएफ, विराटनगर किंग्स, विराटनगर टाइटन्स, ललितपुुर प्याट्रियट्सलगायत टिमबाट घरेलु क्रिकेट खेलेका थिए । घरेलु प्रतियोगितामा सन्दीपको पुनरागमनपछि युवा खेलाडी र समर्थक उत्साहित देखिएका छन् ।

उनी तत्काल कुनै पनि विदेशी लिगमा अनुबन्धित छैनन् । जसकारण उनको पूरा ध्यान घरेलु क्रिकेटमा हुने देखिन्छ । नेपालले तत्काल अन्तर्राष्ट्रिय म्याच खेल्ने तालिका पनि छैन ।

जसले गर्दा सन्दीपसहित राष्ट्रिय टिमका प्रमुख खेलाडी घरेलु क्रिकेटमा प्रतिस्पर्धा गर्नेछन् ।  केपी ओली कपमा राष्ट्रिय टिम कप्तान रोहित पौडलले त्रिभुवन आर्मी क्लब र दीपेन्द्रसिंह ऐरीले नेपाल पुलिस क्लबबाट प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै, विकेटकिपर आसिफ शेख, तीव्र गतिका बलर अविनाश बोहरा एपीएफ क्लबमा आबद्ध छन् । राष्ट्रिय टिमका अन्य सदस्यले पनि केपी ओली कप खेल्नेछन् ।

पोखरा क्रिकेट मैदानमा सञ्चालन हुने यस प्रतियोगितामा १२ टोलीले भाग लिँदैछन् । प्रतियोगितामा सातै प्रदेशका टिम, विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ र दुई आयोजक टोली सहभागी हुनेछन् ।

चार समूहमा खेलाइने खेलमा हरेक समूह विजेता सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल १५ मंसिरमा हुनेछ । प्रतियोगिताको विजेता टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार ११:५१

लोकप्रिय