सूचनाको शक्ति - The Power Of Information

        

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

खाद्य व्यवस्था कम्पनी नेपालगन्जले ५१ हजार क्विन्टल धान खरिद गर्ने

मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार १९८

फाइल तस्वीर

नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका कृषकहरूले उत्पादन गरेको धान बुधबारबाट खरिद गर्न सुरु गरेको छ ।

कम्पनीको प्राङ्गणमा धान विक्री गर्न आउनुभएका पहिलो किसान जानकी गाउँपालिका ५ का सावितराम यादवलाई अबिर र फूलमालाले स्वागत गरेर बुधवार धान खरिद सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।

उहाँले पालिकाको सिफारिस लिएर आउनुभएका किसानहरुको धान परिक्षण गरेर एक जना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न सुरु गरिएको बताउनुभयो ।

प्रमुख लामिछानेले यस वर्ष नेपालगन्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको जनाउँदै ३३ हजार क्विन्टल मोटा र १८ हजार मध्यम धान खरिद गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुधबारबाट किसानको धान खरिद गर्न शुरु गरेका छौँ ।

पालिकाको सिफारिस लिएर आउने कृषकलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउँछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर कृषकले दुःख पाउने अवस्था रहनेछैन ।’

गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर आउन अनिवार्य गरिएको लामिछानेले बताउनुभयो ।

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ कायम गरेकोले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरेको छ ।

कम्पनीको कारकाँदोस्थित गोदाम र कार्यालयको प्राङ्गणमा धान विक्री गर्न आउनुभएका जानकी ५ का किसान सावितराम यादवले यस वर्ष धान राम्रो उत्पादन भएको जनाउँदै तर सरकारले ढिलाे खरिद सुरु गरेको गुनासो गर्नुभयो ।

उहाँले यसअघिनै धेरै किसानले बाध्य भएर दुई हजार ९०० रुपियाँ मूल्यमा व्यापारीलाई धेरै मध्यम धान विक्री गरिसकेको बताउनुभयो । अहिले खाद्य व्यवस्था कम्पनीले खरिद सुरु गरेपछि व्यापारीले तीन हजारमा खरिद गरिरहेको यादवको भनाइ छ ।

यस वर्ष तोकिएको ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।

गत वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको कम्पनीले विभिन्न कारण र समस्याले गर्दा ९ हजार क्विन्टल मात्रै खरिद गर्न सकेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १७:४८

लोकप्रिय