सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीको ठेक्कामा ज्वाइँकै हालीमुहाली

सशस्त्र प्रहरी बलका लागि आवश्यक लत्ताकपडा खरिदमा ठेकेदार राजमान मिश्रको सेटिङ भएको स्रोतले बताएको छ । प्रबन्ध निर्देशनालयका एसएसपी दीपेन्द्र कुँवरले अर्कै ठेकेदारलाई नमूना बनाउन लगाएर ठेक्का भने मिश्रको जेएमबीडी इन्टरनेशनल प्रालिलाई दिन लागिएको स्रोतको दाबी छ ।

मिश्रसँग सेटिङ मिलाएर उनले चालु आर्थिक बर्षमा सशस्त्रको ४ करोड ६० लाख रुपैयाँको स्वेटरसहितका बन्दोबस्तीका सामान आपूर्तिको ठेक्का दिनका लागि आसयपत्र दिइसकेका छन् । मिश्रको जेएमबीडी इन्टरनेशनल प्रालिलाई नेपाल प्रहरीले कालोसूचीमा राख्न गएको असोज १८ मै सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र लेखिसकेकाले सशस्त्रले सम्झौता भने गरिसकेको छैन ।

एसएसपी कुँवरले हरेक किसिमका सामान आपूर्तिको ठेक्का पाउने ठेकेदारसँग १५ प्रतिशत कमिशन माग्ने गरेका छन् । सो कमिशन रकम लिन भने उनले सशस्त्र प्रहरी अस्पतालका लेखा अधिकृत गणेशबहादुर मल्ललाई पठाउने गरेको स्रोतको भनाइ छ । मल्ल यसअघि ५ बर्ष सशस्त्र प्रहरीको केन्द्रीय लेखाका अधिकृत थिए । सशस्त्र प्रहरीका पूर्वआइजीपी शैलेन्द्र खनालले मल्ललाई केन्द्रीय लेखामा लगेका थिए ।

खनालको अवकाशपछि पनि भानु देउवाका ज्वाई दीपेन्द्र कुँवरकै सेटिङमा मल्ल केन्द्रीय लेखामै रहन सफल भएका थिए । १५ प्रतिशत कमिशनमा कुरा मिलेपछि राजमान मिश्रको जेएमबीडीलाई ठेक्का दिएका छन् । उनले नमूना अर्कैसँग लिएर ठेक्का मिश्रलाई दिएको आरोप छ । एसएसपी कुँवरले १५ प्रतिशत कमिशनमा सेटिङ मिलेपछि ज्याकेटको ठेक्का श्रवण अग्रवाललाई दिएको स्रोतले बताएको छ ।

भान्जालाई ठेक्का दिन यस्तो चलखेल

सशस्त्र प्रहरी बलमा आफू नजिकको व्यक्तिलाई ठेक्का दिन कतिसम्मको चलखेल हुने रहेछ भन्ने कुरा एउटा घटनाक्रमले स्पष्ट गरेको छ । ३७ हजार थान व्यारेट क्यापको ठेक्कामा यस्तो चलखेल भएको हो । ३५० रुपैयाँमा खरिद हुँदैआएको ब्यारेट क्याप सशस्त्र प्रहरीले गोविन्द बोगटीसँग १ हजार १५० रुपैयाँमा खरिद गर्ने भएको छ । विगत वर्षभन्दा तीन गुणा महंगोमा सशस्त्रले ब्यारेट क्याप खरिद गर्न लागेको स्रोतले बताएको छ ।

विगत वर्षमा ३७ हजार वटा ब्यारेट क्याप १ करोड २९ लाख ५० हजारमा खरिद हुँदैआएकोमा यो बर्ष ४ करोड २५ लाख ५० हजार रुपैयाँमा लिन लागिएको छ । एकपटक ठेक्का गरेर पनि फेरि रद्द गरेर आफू नजिकको व्यक्तिलाई ठेक्का दिन यस्तो चलखेल भएको खुलेको हो । अहिले टेण्डर फारम भर्ने समय केही दिनमात्रै बाँकी छ । तथापि, उक्त ठेक्का एउटा फर्मलाई दिएर काम चाहिँ अर्कोले गर्नेगरी सेटिङ भइसकेको स्रोत बताउँछ ।

सशस्त्र प्रहरी बलमा मात्रै नभएर नेपाल प्रहरीमा ठूलो परिमाणमा ठेक्का गर्दै आएको तेजसम इन्टरप्राइजेज नामक फर्मलाई ठेक्का दिनेगरी एकपटक टेण्डर निकालेर पनि रद्द गरेर फेरि ठेक्का टुङ्गो लगाउने गरी सशस्त्र प्रहरीले काम गरिरहेको थाहा भएको छ । नेपाल टेलिकमका कर्मचारी टोपेन्द्र बीसीको तेजसम इन्टरप्राइजेजले सिंगापुरको गुणस्तरीय ब्यारेट क्याप भनेर नेपाल प्रहरीमा पनि १ हजार १५० रुपैयाँमा आपूर्ति गर्नेगरी ठेक्का पाइसकेको थियो ।

तर म्यानुफ्याक्चर्स सर्टिफिकेट नै नभएको र कीर्ते कागज पेश गरिएको पाइएपछि ठेक्का नै रद्द भएको छ । सशस्त्रमा उनको फर्मबाट बोगटीले ब्यारेट क्याप आपूर्तिको ठेक्का पाउने तय भइसकेको स्रोतले बताएको छ । ठेक्का तेजसमलाई दिएर काम भने सशस्त्र प्रहरी बलमा सबैले भान्जा भनेर चिन्ने गोबिन्द बोगटीलाई दिने अन्तिम तयारी भएको सशस्त्र प्रहरीको आर्थिक प्रशासन महाशाखाका एक जिम्मेवार अधिकारीले जानकारी दिए ।

स्याङ्जा घर भएका बोगटी सशस्त्र प्रहरी बलमा करोडपति भनेर चिनिने अवकाशप्राप्त लेखा अधिकृत लालबहादुर अधिकारीका भान्जा हुन् । बासुदेव ओली सशस्त्र प्रहरी महानिरीक्षक हुँदा सबैभन्दा शक्तिशाली र व्यापक अतिरिक्त रकम कमाएर बदनाम भएका अधिकारीको भान्जा भएको कारण अहिलेसम्म पनि बोगटीलाई सबैले भान्जा भनेर चिन्ने गर्दछन् । तिनै भान्जालाई पैसा कमाइदिनका लागि नै अहिले सशस्त्रमा ठेक्का एउटा कम्पनीलाई दिएर काम अर्कोलाई दिने अन्तिम तयारी भएको छ ।

यसअघि पनि अघिल्लो बर्ष तेजसमलाई नै ठेक्का दिएर काम चाहिँ कांग्रेसका बालाजुतिरका स्थानीय कार्यकर्ता देबेन्द्र पाठकलाई दिन लागिएको थियो । तर त्यो कुरा धेरै संचार माध्यमहरूमा सार्वजनिक भएपछि उनलाई ठेक्का दिइएको थिएन । यसरी पनि आफू नजिकका व्यक्तिलाई ठेक्का दिन सशस्त्र प्रहरीमा अनेकन चलखेल भइरहेको छ ।

यसरी हुन्छ ठेकेदारसँग सेटिङ

एसएसपी दीपेन्द्र कुँवरले ठेकेदारसँग डिल गर्न प्रबन्ध निर्देशनालयमा ११ बर्षदेखि कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक(सई) जीवन अधिकारीलाई परिचालन गर्ने गरेका छन् । अधिकारीले फोन गरी ठेकेदारसँग सामानको नमूना माग्ने गरेका छन् । ठेकेदारहरुले फोन रेकर्ड गर्ने र पछि ठेक्का नपाएपछि त्यो सार्वजनिक गर्ने त्रासले उनले सई जीवन अधिकारीमार्फत् सम्पर्क गर्ने गरेको स्रोतको दाबी छ ।

सई जीवन अधिकारीको ठेकेदारसँगको सेटिङ थाहा पाएपछि सिंहबहादुर श्रेष्ठ आईजीपी हुँदा उनलाई पोखरा सरुवा गरिएको थियो । शैलेन्द्र खनाल आइजीपी भएपछि उनलाई पुनः प्रबन्धमै ल्याइयो । ठेकेदारसँग डिल गर्न निपूर्ण भएकाले कुँवर र मल्लहरुले नै उनलाई पुनः प्रबन्धमा ल्याएका थिए । अधिकारीले ११ बर्षदेखि प्रबन्धका हाकिमहरुको इशारामा ठेकेदारहरुसँग ठेक्कापट्टाको सेटिङमा सहयोग गर्दैआएका छन् ।

एसएसपी कुँवर भानु देउवाका बहिनी ज्वाइँ भएकै आधारमा उनी सशस्त्रमा आफ्ना ब्याचीलाई उछिन्दै डीएसपी, एसपी र एसएसपीमा जम्प हानेर बढुवा हुँदै आएका छन् । सशस्त्रमा उनका लागि नियम कानुन नै संशोधन गरी डीआईजी बढुवा गर्ने भानु देउवाको तयारी थियो । तर नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएकाले उनको केही जोर नचलेपछि उनी सशस्त्रको खरिद हेर्ने प्रबन्धमा कमाउ अभियानमा छन् ।

यसैबीच, नेपाल प्रहरी आफैंले कालोसूचीमा राख्न पत्र लेखेको राजमान मिश्रको जेएमबीडी इन्टरनेशनल प्रालिलाई ऊलन सर्ट, कटन पाइन्टको ठेक्का दिन आसयपत्र दिइसकेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न पत्र लेखेको डेढ महिना नाघिसकेको जेएमबीडीलाई फेरि हिमाली आइटमको ठेक्का दिनका लागि उसकै स्पेसिफिकेसनसँग मिल्नेगरी बोलपत्र आह्वान गरेको छ । हिमाली बुट १ हजार जोर र हिमाली कपडा एक प्याकेज गरी करिब ३ करोड ६० लाख रुपैयाँ बराबरको आपूर्तिका लागि गएको कात्तिक २३ मा बोलपत्र सूचना निकालिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ०९:३४

लोकप्रिय