सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज नाकाबाट झन्डै अठार अर्बको वैदेशिक व्यापार

पश्चिम नेपालको प्रमुख नाका नेपालगन्जबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोड रुपियाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपियाँको वैदेशिक व्यापार भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले यहाँबाट हुने वैदेशिक व्यापारको अधिकांश हिस्सा भारतले ओगटेको जनाउँदै अन्य २० देशसँग पनि व्यापार भएको बताउनुभयो ।

उहाँले यो नाका हुँदै भारत, बेलायत, मलेसिया, म्यान्मार, चीन, भियतनाम, बेल्जियम, इटाली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, साउदी अरेबिया, सिङ्गापुरसहित २१ देशबाट सामान आयात भएको बताउनुभयो । यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स र म्यान्मारसँग मात्रै निर्यात व्यापार हुने गरेको भन्सार प्रमुख विकको भनाइ छ ।

भन्सार कार्यालय नेपालगन्जका अनुसार यो नाका हुँदै भारतलगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुने गरेको छ भने यहाँबाट जडीबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुँदै आएको छ ।

भारतबाहेक म्यान्मार र युनाइटेड अरब इमिरेट्समा जडीबुटी निकासी हुने गरेको जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले नाकामा निकासी प्रक्रियालाई अझै सहज र सरल बनाउने हो भने धेरै ठुलो परिमाणमा जडीबुटी निर्यात गर्न सकिने बताउनुभयो ।

सोही प्रकारले केएल दुगड जस्ता ठुला खाद्य उद्योगहरूले विगतमा अस्ट्रेलिया पिठो निर्यात गर्ने गरे पनि त्यो नियमित हुन सकेको छैन । बङ्गलादेशमा चामल निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले उत्पादन सामग्रीको वृद्धि र भन्सारको स्तरोन्नतिले निर्यात व्यापारमा प्रभाव पार्ने बताउनुभयो । उहाँले नेपालगन्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी चाँडै सञ्चालन गर्न सके निर्यात व्यापारमा देखा परेका झन्झट समाधान हुने बताउनुभयो ।

पछिल्लो पटक नेपालगन्ज नाकाबाटै प्लाइउड ठुलो मात्रामा निर्यात भएको बताउँदै उपाध्यक्ष ओलीले निर्यात हुने सामग्रीको पहिचान गरी त्यसको उत्पादनमा समेत लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ०८:१४

लोकप्रिय