सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प :

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले स्वयंसेवक खटाउने

पहिलो चरणमा १३ समूह पठाउने

नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि स्वयंसेवक खटाउने भएको छ।

महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र भातृक संगठनको बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा श्रमदान गर्नेसम्बन्धी ६ बुँदे निर्णय गरेको छ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा अस्थायी घर टहरा निर्माणका लागि पार्टीबाट खटिने स्वयंसेवकका लागि श्रमदानसम्बन्धी कार्यविधिसमेत तयार गरिएको जानकारी दिइएको छ।

कांग्रेसले अस्थायी घर टहरा निर्माणका लागि एक निर्माण विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने गरी १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह पठाउने भएको छ । उक्त समूहले एक हप्ता काम गरिसकेपछि अर्को १३ वटा समूहले प्रतिस्थापन गर्ने बताइएको छ।

प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सक परिचालन गरेर सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर चलाउने, नेविसंघले अस्थायी विद्यालय र दुईवटा स्थायी पक्की विद्यालय निर्माणमा श्रमदान गर्ने, नेपाल ट्रेड युनियन कांग्रेसले असहाय परिवार तथा श्रमिकको पुन:स्थापनामा सहयोग गर्ने पनि कांग्रेसले निर्णय गरेको छ।

congress-bhukampa-volunter-1-2-1700562752.jpg

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १७:३३

लोकप्रिय