सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा कल्भर्टमुनि फेला परेको शवको पहिचान खुल्यो

बाँकेको नरैनापुरमा बिहीबार कल्भर्टमुनि फेला परेको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ ।

कल्भर्टमुनि फेला परेको उक्त शव भारतीय नागरिकको रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । उक्त शव भारतको श्रावस्ती जिल्ला मल्लिपुर थाना भगराका अन्दाजी ५० वर्षीय बिलाख निसादको रहेको उहाँले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक रायमाझीका अनुसार उनी नरैनापुर –२ बेलचहवास्थित आफ्नो छोरीको घरमा जान्छु भनी कात्तिक २८ गते दिउँसो २ बजेतिर घरबाट हिँडेका थिए तर उनी छोरीको घरमा पुगेनन् एक्कासि बिहीबार दिउँसो उनको शव कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा फेला परेको थियो ।

उनका आफन्त पनि भारतबाट आइसकेकाले भेरी अस्पतालमा पुगेर शवको पोष्टमार्टम गरिने तयारी गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

मृतकको शव नेपालगञ्ज नरैनापुर हुलाकी सडक खण्डमा पर्ने नरैनापुर गाउँपालिका –३ गेगलीनजिक रहेको कल्भर्टको मुनि जमेको पानीमा डुबेको अवस्थामा बिहीबार दिउँसो फेला परेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार १५:०७

लोकप्रिय