सूचनाको शक्ति - The Power Of Information

        

अपराध

ब्रह्माकुमारीका दुई दिदीबहिनीले गरेको आत्महत्याले ल्याएको हलचल

सिसिटिभी फुटेजमा दुवै दिदीबहिनीले पहिले सँगै सुसाइड नोट लेखेको र त्यसपछि सँगै झुन्डिएर आत्महत्या गरेको खुलासा भएको छ ।

भारतको उत्तर प्रदेश, आगराको ब्रह्मकुमारी आश्रममा बस्ने दुई दिदीबहिनीले एक साता अगाडि धनतेरसको रात (गत शुक्रवार १० नोभेम्बर) राती गरेको आत्महत्याले भारतका ब्रह्माकुमारी आश्रममा हलचल मच्चिएको छ, मानिसहरूले विभिन्न किसिमका प्रश्न उठाइरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार ३८ वर्षीय दिदी एकता सिंघल र ३२ वर्षीय बहिनी शिखा सिंघलको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनास्थलमा दुई वटा सुसाइड नोट पनि भेटिएको छ ।

यसमा माउन्ट आबु र ग्वालियरमा रहेको केन्द्रसँग सम्बन्धित दुई जनासहित चार जनामाथि उत्पीडनको आरोप लगाइएको छ । उत्पीडनका कारण आत्महत्या गरेको प्रहरीले जनाएको छ । सुसाइड नोटमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सहयोगको लागि अनुरोध गरिएको छ । दुवै दिदीबहिनीले आफूलाई उत्पीडन गर्नेहरूलाई आसाराम बापुजसरी नै अभियुक्तलाई जीवनभर जेलमा राख्न अपिल गरेका छन् । प्रहरीका अनुसार एकताको तीन पृष्ठ र शिखाको एक पृष्ठ सुसाइड नोट फेला छ ।

सुसाइड नोटमा नीरज सिंघल नामका व्यक्तिले ठगी र दुर्व्यवहार गरेको आरोप लगाइएको छ । प्रहरी एसपी महेश कुमारका अनुसार उजुरी र सुसाइड नोटका आधारमा उत्तर प्रदेशको ढोलपुर निवासी ताराचन्द्र सिंघल, गुड्डुन (गिराज इन्क्लेभ, बलकेश्वर) र पुनम (पोर्सा, मोरेना) लाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार प्रमाणका लागि सुसाइड नोट आफैमा पर्याप्त छ । प्रहरीले त्यसको परीक्षणका लागि फरेन्सिक विज्ञान प्रयोगशाला पठाउने भएको छ ।

मुख्य आरोपी नीरज सिंघलचाहिँ फरार रहेको बताइएको छ । अभियुक्त नीरजलाई पक्राउ गर्न प्रहरी टोली माउन्ट आबु आश्रम गएको थियो तर त्यहाँबाट उ फरार भएको छ । अहिले प्रहरी आरोपीका चिनजान र आफन्तको विवरण सङ्कलनमा व्यस्त छ । सुसाइड नोटमा दुवै दिदीबहिनीले नीरज, उसका बुवा तारा चन्द्र, गुड्डुन र पुनमलाई आत्महत्याको दोष दिएका छन् । मृतकले सुसाइड नोटमा आफ्ना बुवाले आश्रमसँग सम्बन्धित व्यक्तिलाई सात लाख रुपैयाँ जग्गाका लागि दिएको पनि लेखेका छन् ।

सोही व्यक्तिले ब्रह्मकुमारी आश्रममा जोडिएका गरिब आमाको १८ लाख रुपैयाँ हिनामिना गरेको सुसाइड नोटमा उल्लेख छ । ब्रह्मकुमारी केन्द्र बनाउने नाममा कूल २५ लाख रुपैयाँ हिनामिना भएको छ । त्यसपछि यी मानिसहरूले ब्रह्मकुमारी केन्द्र बनाउने हल्ला फैलाउँदै लगे । यससँगै मृतकले यज्ञमा बस्न पनि योग्य नभएको लेखेका छन् । ब्रह्मकुमारीमा पैसा लुट्ने र महिलासँग अनैतिक काम गर्ने मानिसहरूले वर्चस्व भएको र माथिसम्म आफ्नो पहुँचको आधारमा तर्साउने गरेको सुसाइड नोटमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

तन्तपुर निवासी अशोककुमार सिंघलकी छोरी एकता र शिखाले करिब आठ वर्षअघि माउन्ट आबुस्थित ब्रह्माकुमारीको सदरमुकाममा दीक्षा लिएका थिए । त्यसपछि दुवैले जगनेरमा ब्रह्माकुमारी सेन्टर सुरु गरे । साँझ अबेर रुपवास सेन्टरबाट दुवै छोरीले आत्महत्या गरेको जानकारी पाएको परिवारका सदस्यले बताएका छन् । उनी आगरा आइपुगे । दुवै दिदीबहिनीको शव हलको केही दूरीमा सारीमा झुन्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले आत्महत्या गर्ने एकता र शिखाको कोठाको सिसिटिभी फुटेज प्राप्त गरेको छ ।

यस फुटेजमा दुवै दिदीबहिनीले पहिले सँगै सुसाइड नोट लेखेको र त्यसपछि सँगै झुन्डिएर आत्महत्या गरेको खुलासा भएको छ । सिसिटिभी फुटेजले प्रहरीलाई घटनाको अनुसन्धानमा धेरै सहयोग गरेको छ । घटना भएको दिन प्रहरीले कोठामा राखिएको सिसिटिभीको फुटेज हेर्न सकेन । त्यसपछि विशेषज्ञको सहयोगमा डीभीआरको ताला खोलियो । सिसिटिभी फुटेजका अनुसार दुवै दिदीबहिनी राति १० बजेतिर केही लेखिरहेको देखिएका थिए । दुवैले सुसाइड नोट लेखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

त्यसपछि दुवैले मोबाइलमा फोटो खिचे, जसलाई उनीहरूले व्हाट्सएपमा सेयर गरे । त्यसपछि दुवै दिदीबहिनीले आत्महत्या गरे । सिसिटिभी फुटेज फेला परेपछि प्रहरीले दुवै दिदीबहिनीको मोबाइल पनि परीक्षण गरेको थियो । प्रहरीले मोबाइलबाट धेरै भ्वाइस रेकर्डिङ फेला पारेको थियो, जुन उनीहरूले आरोपी नीरजलाई पठाएका थिए । आवाज रेकर्डिङमा उनीहरूले नीरजले आफूलाई धोका दिएको बताएका छन् । यसका साथै उनीहरूले नीरजमाथि अन्य धेरै आरोप पनि लगाएका छन् । आत्महत्या गर्नुअघि दिदीबहिनीले नीरजलाई भ्वाइस म्यासेज पनि पठाएका थिए । जसमा उनले ठगीको कुरा गरेका छन् ।

स्रोत : आइएनएस
प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार १२:५०

लोकप्रिय