सूचनाको शक्ति - The Power Of Information

        

टिकटक बन्दपछि चर्चामा आएको ‘भीपीएन’ कति सुरक्षित ?

नेपाल सरकारले टिकटक प्रतिबन्ध गरेपछि अहिले धेरै सुनिने शब्द हो ‘भीपीएन’ । सोमबारको मन्त्रिपरिषद बैठकले टिकटक बन्दको निर्णय गरेपछि मात्रै नेपालमा यो शब्द धेरै नै सुनिन थालेको हो । सरकारको निर्णयपछि दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेर टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न निर्देशन दियो ।

त्यसपछि नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकले टिकटक चलाउन नमिल्ने बनाए । तर केही असन्तुष्ट प्रयोगकर्ताले चोरबाटो हुँदै भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेका छन् । कम्प्युटर एसोसिएन अफ नेपाल (क्यान)का महासचिव चिरञ्जिवी अधिकारीका अनुसार बुधबारसम्म करिब एक लाखको हाराहारीमा भीपीएन प्रयोग भइरहेको तथ्याङ्क छ । यो तथ्याङ्क दिनदिनै बढ्दोक्रममा रहेको उनको भनाइ छ ।

के हो भीपीएन ?

‘भर्चुअल प्राइभेट नेटवर्क’ अर्थात् ‘भीपीएन’ हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबीचको इन्टरनेटलाई सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो । यसले उपकरण र अन्य कम्प्युटरको बीचमा पुलको काम गरिदिन्छ । सामान्यतया हामी अनलाइन हुँदा हामीले प्रयोग गरिरहेको उपकरणबाट इन्टरनेट सेवा प्रदायकको माध्यम हुँदै इन्टरनेटको ठूलो सञ्जालमा जोडिन्छौं ।

तर भीपीएनले हामीलाई अर्को एउटा कम्प्युटरमार्फत् इन्टरनेटको सञ्जालमा जोडिदिन्छ, यसले गर्दा हाम्रो परिचय गोप्य रहन्छ । अधिकांश भीपीएन कार्यालय प्रयोजनका लागि मात्रै प्रयोग गर्न मिल्ने गरी बनाइए पनि हाल आएर यसको पहुँच व्यक्तिगत रूपमा पनि हुन थालेको छ । खासगरी जुन वेबसाइटमा पहुँच पुर्याउन सकिँदैन त्यो वेबसाइटमा पहुँच पुर्याउनका लागि भीपीएन प्रयोग गरिन्छ ।

यसका लागि हामी कुनै भीपीएन निःशुल्क प्रयोग गरिरहेका हुन्छौं भने कुनै पैसा तिरेर । भीपीएनको प्रयोग मार्फत टिकटक चलाउन सकिएपनि सित्तैमा प्राप्त भिपिएन सुरक्षित नहुने कम्प्युटर ‘क्यान फेडेरेसन’का महासचिव तथा साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारी बताउँछन् । उनी भन्छन्, ‘निःशुल्क पाइने सबै भीपीएनहरू सुरक्षित हुँदैनन् । सित्तैमा पाइने भीपीएनबाट र्यानरमवेयर भाइरसहरू पनि डाउनलोड हुन्छ । यसले भीपीएनबाट चलाउने सबै नेकवर्कमा असर गर्न सक्छ ।’

भीपीएनलाई सुरक्षित रूपमा चलाउन मिल्ने भए पनि फेसबुक लगायतका सामाजिक सञ्जाल चलाइरहनु सुरक्षित तरिका होइन । यसले डिभाइसमा भएका अरू सामाजिक सञ्जाललाई असर पार्न सक्छ । अधिकारीका अनुसार सित्तैमा पाइने भीपीएनका कारण अरू माल्वेअरहरू आएर हाम्रो डिभाइसमा बस्छ जसले घरदेखि अफिससम्मको डेटा चोरी हुने खतरा बढ्न सक्छ ।

उनी भन्छन्, ‘हामीले भीपीएन प्रयोग गर्दा तस्वीरको माध्यमबाट कोडहरू पठाउँछ र भेरिफाइ गर्न लगाउँछ । हामीले त्यो कुरा सजिलै भेरिफाइ गर्नतर्फ लाग्छौं । सित्तैमा भीपीएन पाउने लोभमा यसबाट हाम्रा सूचनाहरू चोरी भइरहन्छ । पछि एकैचोटि आक्रमण हुन्छ र पछि ह्याकरले हाम्रो अकाउन्ट ह्याक गरिदिन्छ ।’ कसैले फेसबुक वा टिकटकमा भीपीएन प्रयोग गर्न सुझाव दिएका आधारमा मात्रै यस्ता सफ्टवेयरहरू चलाउन नहुने उनको सुझाव छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार १२:३४

लोकप्रिय