सूचनाको शक्ति - The Power Of Information

        

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले २ वटा गैँडा मारे

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई वटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोस्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उहाँले भन्नुभयो, छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।

छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । सानो गैँडा तीन दिन पहिले र ठूलो गैँडा १० दिन पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ ।

बिहीवार बेलुकीमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उहाँले बताउनुभयो । यस वर्ष निकुञ्जमा चोरी–सिकारबाट पहिलोपटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँच वटा गैँडा मरेका छन् । गएकाे वर्ष तस्करले अमलटारी क्षेत्रमा दुई वटा गैँडा मारेका थिए ।

स्रोत : रासस
प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार ०८:०३

लोकप्रिय