सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगञ्जमा मुस्लिम समुदायका अगुवाले मनाए भाइटीका

सबै एकआपसमा मिलेर बस्न आग्रह

बाँकेको नेपालगञ्जमा मुस्लिम समुदायका अगुवाले आफूले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएको बताउनुभयो ।

धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको उहाँले बताउनुभयो । त्यसैगरी बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि आफूले मानेको बहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाउनुभएको छ ।

उहाँले दशैंँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताउनुभयो । ‘हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ,’ उहाँले भन्नुभएको छ ।

यस्तै, भाइटीकाको दिन हिजो मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिनुभएको थियो । दुवै समुदायका धर्म गुरूले एकता र सद्भावका लागि संयुक्त रूपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गर्नुभएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार ०९:०३

लोकप्रिय