सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा उपचाररत भूकम्पका ४८ जना घाइते घर फर्किए

जाजरकोट भूकम्पमा घाइते भई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ,’ उनले भने, ‘उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’ भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो ।

बिरामी निको भएर घर फर्किएपछि उक्त वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताए । भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । तीन जनालाई काठमाडौं प्रेषण गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

निको भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न विभिन्न सङ्घ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको थियो । यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका छन् । भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलवार ०९:५७