सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा उपचाररत ४८ जना भूकम्पका घाइते डिस्चार्ज

भेरी अस्पतालमा उपचाररत ४८ जना भूकम्पका घाइते निको भएर घर फर्किएका छन् ।

सोमबार बेलुका दुई जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या ४८ पुगेको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा ६ जना घाइते मात्र उपचाररत छन् ।

जाजरकोट, रुकुम पश्चिम, सल्यान र बाँकेका ५८ जना घाइतेलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । ती मध्ये तीन जनालाई काठमाडौँ रिफर गरिएको थियो भने एक जनाको मृत्यु भएको डा. रिसालले जानकारी दिए ।

 ४८ जना घाइते डिस्चार्ज भएसँगै भेरी अस्पतालको अर्थोपेडिक वार्डमा अब ६ जना बिरामी मात्रै उपचाररत छन् । ‘डिजास्टर वार्ड’ भने खाली भएको छ।

डिस्चार्ज भएका घाइतेलाई एमडिएम फ्रान्सको सहयोगमा घरसम्म जाने व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

 बसको व्यवस्था गरि उनीहरुलाई जाजरकोट खलङ्गा–आठबिसकोट, रुकुम–रिम्नासम्म पठाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलवार ०७:३२

लोकप्रिय