सूचनाको शक्ति - The Power Of Information

        

नेपाल एयरलाइन्सको जहाजमा समस्या, यात्रुलाई ओरालियो

हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगन्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ ।

अचानक जहाजको बायाँ इन्जिनमा खराबी आउँदा जहाज सिमकोट विमानस्थलमै रोकिनुपरेको हो । नेपाल एयरलाइन्सको नाइन एन–एबीयू कलसाइनको जहाज आज बिहान नेपालगन्जबाट सिमकोट गएर पुनः नेपालगन्ज फर्किने तयारीमा थियो ।

हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए । तर प्राविधिक समस्या देखिएपछि यात्रुहरु ओरालिएको छ । यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परेका छन् । नेपालगन्जबाट प्राविधिक बोलाएकोले जहाजको प्राविधिक जाँच भइनसकेको सिमकोट विमानस्थल टावरले जनाएको छ ।

नेपालगन्जका लागि चौध जना यात्रुहरू भरेर एउटा इन्जिनिन सञ्चालन गरेर अर्को इन्जिन सञ्चालन गर्दा उक्त इन्जिन सञ्चालन नभएपछि जहाजमा प्राविधिक समस्या आएको नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख बलराज हमालले बताए ।

नेपालगन्जबाट सिमकोटका लागि सोमबार बिहान १४ जना यात्रु बोकेर सिमकोट विमान स्थलमा अवतरण गरेको थियो । उनले यात्रु सबै विमानभित्र पसेको र पाइलटहरूले विमान सञ्चालन गर्ने क्रममा इन्जिन सञ्चालनमा नआउँदा समस्या देखिएको बताए ।

उक्त इन्जिनको तलपट्टीबाट इन्धन चुहिएको थियो । पटक पटक चालक दलका सदस्यहरूले इन्जिन सञ्चालन गर्ने प्रयास गरे पनि असफल भएको थियो । जहाजमा प्राविधिक समस्या आएपछि वरिष्ठ क्याप्टेन मनिस बिष्ट, को–पाइलट र एयरहोस्टेज समेत सिमकोटमै बस्नेछन् ।
नेपाल एयरलाइन्स नेपालगन्जका सहायक बलबहादुर सुनारले भोलि दुई जना प्राविधिक आएर मर्मतपछि मात्र जहाजका बारेमा भन्न सकिने बताए । सोमबार प्राविधिक ल्याउने प्रयास गरिएको भए पनि त्यो सफल हुन सकेको थिएन । झारिएका यात्रुहरूको टिकट भाडा अब फिर्ता गरिनेछ । उक्त जहाजमा एक जना बिरामी महिला समेत थिइन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार ११:४७

लोकप्रिय