सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पबाट जाजरकोट ६७ विद्यार्थीको मृत्यु, ४० हजार प्रभावित

जाजरकोट भूकम्पमा परी दुई जिल्लाका ६७ विद्यार्थीको मृत्यु भएको छ भने ४० हजार विद्यार्थी प्रभावित भएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन् ।

भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुम पश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार छ सय ८७ जनामध्ये ४० हजार ११० विद्यार्थी भूकम्पबाट प्रभावित भएको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलबीर सुनारले बताए ।

जाजरकोटमा ७५ हजार ८५३ विद्यार्थीमध्ये २२ हजार ७५९ र रुकुम पश्चिममा ५७ हजार ८३४ विद्यार्थीमध्ये १७ हजार ३५१ विद्यार्थी भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिए । जाजरकोटमा ४२३ र रुकुम पश्चिममा ३१३ गरी ७३६ विद्यालयमध्ये २०८ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् ।

त्यस्तै, ४१८ विद्यालयमा आंशिक रूपमा क्षति भएको जनाइएको छ । जाजरकोटका धेरै विद्यालयमा क्षति पुगेको छ । जाजरकोटमा मात्रै १७३ विद्यालय पूर्ण रूपमा र ४०८ विद्यालय आंशिक रूपमा क्षति भएका छन् । त्यस्तै, रुकुम पश्चिममा ३५ विद्यालय पूर्ण र १० विद्यालय आंशिक रूपमा क्षति भएका छन् ।

भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । जसमा सबैभन्दा धेरै रुकुम पश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको शिक्षा अधिकृत सुनारले जानकारी दिए । यसैगरी, रुकुम पश्चिमका ३६ र जाजरकोटका ३५ गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको छ ।

घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको सुनारको भनाइ छ । भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुम पश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन् । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल छ सय सिकाइ केन्द्रहरू स्थापना गर्ने योजना बनाएको छ ।

सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत सुनारले तत्काल भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी सिकाइ केन्द्रहरू निर्माण गरी विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने योजना रहेको बताए । विद्यालयमा भएको भौतिक क्षतिको लेखाजोखा गरी पुनःनिर्माणको कामलाई अगाडि बढाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार ०९:३८

लोकप्रिय